निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय


काठमाडौं, जेठ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही कमजोरी भएको भन्दै त्यसलाई संशोधन गरेर जाने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकमा गरिएको आरक्षणमा केही सुधार गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । थारु प्रतिनिधिहरुसँग शुक्रबार आफ्नै निवास खुमलटारमा कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले विधेयकमा गरिएको व्यवस्थाले थारु समुदायलाई अन्याय परेको स्वीकार्नुभयो ।

“प्रस्तावित विधेयकमा थारु समुदायलाई केही अन्याय परेको महुशस मैले पनि गरेको छुँ, यस विषयमा प्रधानमन्त्रीसँग र पार्टीमा छलफल गरेर संशोधनको पहल लिन्छुँ” अध्यक्ष प्रचण्डले भन्नुभएको थारु कल्याणकारिणीसभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो ।

सो विधेयकको दफा ९ मा पदपूर्ति सम्बन्धी विशेष व्यवस्था शीर्षकमा थारुलाई चार प्रतिशतको आरक्षण तोकेको छ । थारु प्रतिनिधिले जनसंख्याको आधारमा सबैलाई समानुपातिक हिसावले आरक्षणको व्यवस्था माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । २०६८ को जनगणनाअनुसार थारुको जनसंख्या कुल जनसंख्याको ६.५५ प्रतिशत छ । तर सो समुदायले कम्तिमा १० प्रतिशत आरक्षणको माग गरेको छ ।

प्रस्तावित विधेयकको दफा ९ (३) अनुसार एउटा व्यक्तिले एकभन्दा वढी समुहबाट प्रतिस्पर्धा गर्न नपाउने तर रोजेको कुनै एक समुहबाट मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवसथा गरिएको छ । विधेयक पारित भएमा थारु समुदायका उम्मेदवारले कि थारु कोटाबाट, कि आदिबासी जनजाति कोटामध्ये एक बाट मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।

थाकसका महामन्त्री चौधरीकाअनुसार विधेयकले आरक्षण ४५ र खुला ५५ को व्यवस्था गरेकाले त्यसलाई संशोधन गरी आरक्षण ६० र खुला ४० गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

थाकसले यसअघि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठलाई पनि सोही मागको ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिनिधि टोलीमा सांसदहरु गंगा सत्गौंवा थारु, अमनलाल मोदी थारु, सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, पूर्व सांसदहरु मानपुर चौधरी, रुक्मिणी चौधरीसहित थाकसका प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया