हावाहुरीले क्षति पुगेको नागरिकलाई राहत वितरण गर्न सांसदको माग


काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभाका सांसद नारदमुनी राना थारुले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण भएको क्षति र उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विहिबार बैठकमा बोल्दै सांसद रानाथारुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुएको हो ।

हजारौं जनताको घरको छानो उडाएर आँधीले ठूलो क्षति गरेको, कैयौंको कृषि खेती नष्ट गरेकाले पीडितहरुलाई त्रिपाल मात्र वितरण गरेर समस्या समाधान नहुने भन्दै उहाँले तत्काल सरकारको तर्फबाट उचित राहतको माग गर्नुभयो ।

त्यसैगरी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरु निरुदेवी पाल, झपट रावल, निरादेवी जैरु, लक्ष्मी चौधरी, नरबहादुर धामी, विनादेवी बुढाथोकी लगायतले कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी ज्ञापनपत्र मार्फत राहत वितरणको माग गर्नुभएको थियो ।

जेठ २३ गते आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा हजारौं नागरिक पीडित भएका थिए । हावाहुरीका कारण विद्युतका पोलहरु भाँचिएपछि एक हप्तासम्म दुई जिल्लाका बासिन्दा विजुली नपाएर पनि पीडित बनेका थिए ।

तपाईको प्रतिक्रिया