काठमाडौं, असार ५ गते । थारु लोक चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणका लागि काठमाडौंमा दुई हप्ते थारु लोक संस्कृति चित्रकला प्रदर्शनी हुनेभएको छ । असार २८ देखि साउन १० गतेसम्म हुने चित्रकला प्रदर्शनीले थारु चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
अरुपण आर्ट ग्यालेरी लाजिम्पाट र दाङ हस्तकला संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा करिब तीन दर्जनबढी चित्रकलाहरु प्रदर्शनमा राखिने बताइएको छ । आर्ट ग्यालरीको सहयोगमा हुने सो प्रदर्शनीमा पश्चिम महाकालीदेखि पूर्वका थारु चित्रकलालाई प्रदर्शनका लागि पहल भइरहेको आयोजक संस्थाले जनाएको छ । प्रदर्शनी ग्यालेरीको लाजिम्पाटमा हुनेछ ।
थारु समुदायमा लोक चित्रकलाको भण्डार छ तर प्रचार प्रसारको अभावले सुशुप्त अवस्थामा रहेको आफूले बुझेको खनालले बताउनुभयो ।
आर्ट ग्यालेरीका निर्देशक तथा चित्रकला समिक्षक रमेश खनालले दुई सातासम्म चल्ने प्रदर्शनीले छुपेर रहेको थारु लोक चित्रकलाको प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । थारु समुदायमा लोक चित्रकलाको भण्डार छ तर प्रचार प्रसारको अभावले सुशुप्त अवस्थामा रहेको आफूले बुझेको खनालले बताउनुभयो । प्रदर्शनीमा राखिने चित्रकलाको विक्री वितरण गरिने र विक्रीबापतको ३० प्रतिशत रुपियाँ चित्रकला बनाउने कलाकारलाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।
दाङ हस्तकला संघका अध्यक्ष तथा थारु संस्कृतिविद अशोक थारुले चित्रकलाका लागि पश्चिम कञ्चनपुरदेखि पुर्वसम्मको जिल्लामा त्यसबारे पहल गरिएको बताउनुभयो । चित्रकला प्रदर्शनीका विषयमा प्रचार प्रसारको खाँचो रहेको बताउँदै उहाँले कलाकारले सो बारेमा ध्यान दिनुपर्ने बताउनुभयो । थारु लोक चित्रकलाले प्रदर्शनको अवसर नपाइरहेको अवस्थामा आर्ट ग्यालेरीमा हुने प्रदर्शनीले थारु लोक चित्रकलालाई व्यवसायिक तथा वजारीकरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
एकजना कलाकारले बढीमा तीनवटा चित्रकला प्रदर्शनीका लागि राख्न सक्ने आर्ट ग्यालेरीका निर्देशक खनालले बताउनुभयो । थारु समुदायमा अझै व्यवसायिक चित्रकलाकार स्थापित हुन नसकेको बताउँदै संस्कृतिविद थारुले प्रदर्शनीले कलाकारलाई हौसला प्रदान गर्ने बताउनुभयो । थारु समुदाय लोक चित्रकलामा धनी भएपनि कलाकार उत्पादन गर्न नसक्दा चित्रकलाहरु लोप हुनेक्रममा रहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।