६० नम्बर थपेर कोइरालालाई स्नातकोत्तर उत्तीर्ण गराउने त्रिवि विवादमा


काठमाडौं, असार १७ गते । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको उपाधी दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ मानवीय त्रुटि भएको त्रिवि पदाधिकारीहरुको भनाई छ ।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बरले उत्तीर्ण गराएको भेटिउको छ । तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेपछि अख्तियारले विद्यार्थी कोइरालासँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ ।

यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीसँग छलफल गरेको छ । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरे ।

रजिष्टार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता हैन । कोइरालाभन्दा ७ प्रतिशत बढी नम्बर ल्याउने पनि विद्यार्थी छन् ।’

कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिष्टार उप्रेतीले जानकारी दिए ।

रजिष्टार उप्रेतीले ९ नम्बरमा ६० थपेर पास गर्ने त्रुटि संथागत नभइ व्यक्तिगत भएको प्रष्टीकरण दिएका छन् । ‘यो संस्थागत नभइ व्यक्तिगत त्रुटि हो । यसलाई त्रुटि मात्रै नभएर एउटा दुर्घटना नै भन्न चाहन्छु’ उप्रेतीे भने, ‘त्रिविको साख जोगाउनका लागि यस्ता गलत कार्य रोक्न र आगामी दिनमा हुन नदिन अन्य विभागमा पनि यस्ता गलत कार्य भएका छन कि भनेर अध्ययन गर्ने तयारी गरेका छौं ।’

कसरी थपियो ९ मा ६० नम्बर 

रजिष्टार उप्रेतीकाअनुसार बिद्यार्थीले परीक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउँछ । परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक उत्तरपुस्तिकाको भित्रि र बाहिर पृष्ठको नम्बर मिले नमिलेको चेक गर्छ । ‘कसैले छुट्टै पन्नामा उत्तर लेखेर टाँसेको रहेछ भने बाहिर पृष्ठमा थपिएको कापीको नम्बर हुँदैन । यो हेर्न भित्री र बाहिरी पृष्ठको नम्बर चेक गर्ने गर्दछौं,’ उप्रेतिले भने ।

भित्री र बहिरी पृष्ठको नम्बर नमिलेको अवस्थामा त्यसलाई रद्ध गर्ने र मिलेकाहरुको हकमा बाहिरी पृष्ठ राखेर पुनः नम्बरिङ गरी जाँचका लागि शिक्षकहरु कहाँ पठाइन्छ । कसको कापी कहाँ गएको छ भन्ने पनिकालाई थाहा हुने तर, शिक्षकले कसको उत्तरपुस्तिका जाँच गरेको हो भनेर पत्ता लगाउन नसक्ने उनले बताए ।

शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमूना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला ९नम्बर इन्ट्रीमा० ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिष्टार उप्रेतीले बताए । ‘नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनु भएछ’ उनले भने ।

समिति बैठकमा रजिष्टार उप्रेतीले मार्कस्लिपमा ९ नम्बर नै रहेको ९प्रिन्ट पेपर० समिति बैठकमा देखाएका थिए । ‘मार्कस्लिपमा ९ नम्बर नै छ । तर, पछि ६९ बनाइएको रहेछ’, उप्रेतीले पेपर देखाउँदै भने । कोइरालालाई २०७२र७३ को वाषिर्क परीक्षाको नतिजामा एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका थिए ।

यसअघि पनि कर्मचारीहरूकै संलग्नतामा फेल भएकालाई बढी नम्बर चढाएर पास गराउने र कम नम्बर ल्याएकालाई नम्बर थप गरेर बढी बनाइदिने गरिएको आंशकामा अख्तियारले पनि छानबिन जारी राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया