थाकसले दियो एकताको सन्देशः आगामी दवावका कार्यक्रम मिलेर गर्ने

घोषणापत्रको पूर्णपाठ सहित


गीता चौधरी
काठमाडौं, असार २३ गते । थारु कल्याणकारिणीसभा (थाकस) र थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलन परिचालन कमिटीको दुई दिने एकीकृत थरुहट राष्ट्रिय भेला २०७६ सम्पन्न भएको छ । भेलाले थारु एकताको सन्देश प्रवाह गरेको छ ।

चितवनमा शनिबार र आइतबार जारी भेलाको २१ बुँदे निस्कर्ष निकाल्दै थाकसले आगामी आन्दालन र दवावको कार्यक्रम संयुक्तरुपमा गर्ने सहमति गरेको हो । यसअघि थरुहट थारुवान संघर्ष समितिको नाममा दुई खेमामा विभाजित थारुलाई एकीकृत गरी सहमतिमै कार्यक्रम गर्ने भेलाले निर्णय गरेको महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

भेलाबारे जानकारी दिने पत्रकार सम्मेलन सोमबार विहानका लागि तय गरिएको भएपनि प्राविधिक कारणले साँझ ३ बजेमात्र पत्रकार सम्मेलन गरिएको महामन्त्री चौधरीले बताउनुभयो । थाकस चितवनको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसअघि थाकस र लक्ष्मण थारु नेतृत्वको समुह अलग अलग कार्यक्रम गर्दैआएका थिए । तर चितवन भेलाको छलफल पछि एकीकृतरुपमा आगामी दिनमा कार्यक्रम गरी एकताको सन्देश दिने सहमति बनेको थाकसले जनाएको छ ।

लक्ष्मण थारु नेतृत्वको समूहले आगामी भदौ ७ र ८ गते टीकापुरमा विशाल भेला गर्ने भन्दै थाकसका सहमहामन्त्री मिनराज थारुको संयोजकत्वमा आयोजक कमिटि समेत गठन गरेर तयारी थालेको थियो । थाकस सचिवालय बैठकले सहमहामन्त्री थारुलाई स्पष्टीकरण सोधेको थियो । चितवन भेलामा सबै विषयमा संवाद भई सहमति बनेको महामन्त्री चौधरीले बताउनुभयो ।

भेलाले टीकापुर घटना तथा अन्य आन्दोलनका क्रममा पक्राउ परेका थारु राजबन्दीहरुको रिकाईको पहल गर्ने, भदौ ७ र ८ गतेको कार्यक्रम उपत्यकासहित देशभरका थारु जिल्लामा कालो दिनकोरुपमा मनाउने, थारु माग मुद्दा र राजबन्दीको रिहाईका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, राजबन्दीका परिवारका सदस्यहरुको पठन पाठनकालागि पहल गर्ने, थारु शहीदलाई शहिदमा सूचीकृतका लागि सरकारसँग पहल गर्ने लगायतको प्रस्ताव थाकसले तयार गरेको छ ।

भेलामा देशभरबाट करिब तीनसय थारु अगुवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थाकसले जनाएको छ । कार्यक्रममा सांसदहरुलाई समेत आमन्त्रण गरिएको भएपनि नेकपाका सांसद अमनलाल मोदी थारु, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व सांसद रुक्मिणी चौधरीको मात्र सहभागिता थियो । भेलामा थाकसका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता थियो ।

घोषणापत्रको पूर्णपाठ हेर्नुहोस

तपाईको प्रतिक्रिया