भूकम्पपीडित महिलाको बेचविखनको घटना बढ्यो

विवाहगर्ने प्रलोभनमा दलालले चेलीलाई भारत पु¥याए


SAM_2375

काठमाडौं, मंसिर २१ गते । भूकम्प पीडित महिलाको बेखविखन तिब्ररुपमा भइरहेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । भूकम्पकाकारण उठिबास भएका बेला विवाह गर्ने र जागीर लगाइदिने प्रलोभनमा पारी महिलाहरुको बेचविखन भइरहेको उहाँहरुको दावी छ ।

मानव बेचविखन न्यूनिकरण तथा महिला माथिहुने हिंसा न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सोमबार यहाँ बोल्दै सो क्षेत्रमा कार्यरत प्रतिनिधि तथा अधिकारकर्मीले महिलालाई सबैतिरबाट समस्यामा पार्ने काम गरिएको गुनासो पोख्नुभयो । समस्या परेका बेला अनेक बहानाबाजी गरी, प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका संयौं महिलालाई भारत र अन्य ठाउँमा बेचविखन गरिएको घटना सुनाउनुभयो ।

शक्ति समूहकी अध्यक्ष तथा अधिकारकर्मी सुनिता दनुवारले मौकाको फाइदा उठाउँदै दलालीहरुले भूकम्प पीडित महिलालाई विवाह गर्ने तथा जागीर लगाइदिने प्रलोभन देखाएर बेचविखन गरिरहेको दावी गर्नुभयो । आफ्नो संस्थामा त्यस्तो धेरै घटनाहरु आएको बताउनुहुँदै अध्यक्ष दनुवारले सो विषयमा सञ्चारकर्मीलाई चनाखो भएर कलम चलाई दिन आग्रह गर्नुभयो ।

नेपाली महिलालाई कानूनी तरिकाले भिसा लगाएरै बेचविखनको काम भइरहेको स्रोत आफूहरुकहाँ आएको बताउनुहुँदै अध्यक्ष दनुवारले पछिल्लो समय ठमेल क्षेत्र महिला बेचविखनको ट्रान्जिट पोइन्ट बनेको दावी गर्नुभयो । इन्धन अभावले काठमाडौंका अधिकांश रेष्टुरेन्ट र होटलहरु बन्द हुन थालेपछि त्यहाँ काम गर्ने नेपाली चेलीलाई रातारात भारत र तेस्रो मुलुकतिर लगिएको प्रमाण आफूहरुकहाँ पुगेको शक्ति समूहको दावी छ ।

अध्यक्ष दनुवारले १४ जिल्लाको सातसय ७४ जना भूकम्प पीडित महिलाहरु बेचविखनको उच्च जोखिममा रहेको बताउनुहुँदै बेचिएका महिलाहरुको आफ्नो जीवनसँगै परिवारकै समस्या बढेको जानकारी दिनुभयो । काम लगाइदिने बहानामा विदेश लगेर कैयौं महिलाको मृगौला झिकेर प्लाष्टिकको सर्जरी गरी स्वदेश फर्काइएको घटनासमेत आफूकहाँ पुगेको उहाँले जानकारी गराउनुभयो ।

बलिउडका नायिका र सेलिबे्रेटीहरुको स्कीन सर्जरीका लागि समेत नेपाली चेलीको स्किन प्रयोगमा आइरहेको बताउँदै सरोकारवालाहरुले नेपाली चेलीको बेखविचन रोक्न सरकारलाई सतर्क गराउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

सो संस्थाका निर्देशक तोया घिमिरेले महिला हिंसा र महिला बेचविखनको घटना तिव्ररुपमा बढिरहेकाले सरकारलाई दवाव दिन सञ्चारकर्मी नै सक्रिय हुनुपर्ने बताउनुभयो । सञ्चारकर्मीलाई सो विषयमा कलम चलाएर सरकारी तहबाट अनुगमन र सुरक्षा व्यवस्थाका लागि दवाव दिन आग्रह गर्नुभयो । महिला बेचविखनको घटनालाई सम्पादकीय तहमा पु¥याउन आवश्यक रहेको चर्चा गर्नुभयो ।

SAM_2373

नेपाली चेलीहरुको विदेशमा मात्रै बेचविखन नभई स्वदेशमै रेष्टुरेन्टबाट अर्को रेष्टुरेन्टमा बेचविखन भइरहेको घटनासमेत बाहिर आएको सञ्चारकर्मीले सो अवसरमा जानकारी गराए । महिला हिंसा तथा बेचविखनको घटना रोक्न सबै नागरिक आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने सुझाव दिए ।

पत्रकार टंक पन्तले महिलामाथिको हिंसा चौतर्फी बढिरहेको भएपनि सञ्चारकर्मीको सहयोगले केही हदसम्म नियन्त्रणमा आइरहेको बताउनुभयो । सरकारलाई दवाव दिने हिसावले सञ्चारमाध्यममा महिला हिंसा तथा बेचविखनका घटनालाई लिएर समाचार बनेपछि सुरक्षाकर्मी सतर्क हुन थालेको बताउनुभयो । महिला हिंसा अन्त्यकालागि सबै पत्रकार जिम्मेवार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

पत्रकार मातृका पौडेल, लक्की चौधरी, अशोक दर्नाल, विनोद ढकाल, इन्द्रलक्ष्मी घिमिरे, पार्वती थापामगर लगायतले सञ्चारकर्मीले आफ्नो ठाउँबाट महिला बेचविखनको अन्त्य तथा घरेलु हिंसा न्यूनिकरणका लागि भूमिका निर्वाह गरिररहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया