कमैया मुक्त भएको १९ वर्ष, भएन अझै मुक्त कमैयाको पुनरस्थापना


लक्की चौधरी
काठमाडौं, साउन २ गते । पश्चिम तराईका जिल्लामा दासदासी प्रथाकोरुपमा रहेको कमैया मुक्त घोषणा भएको १९ वर्ष पूरा भएको छ । तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो । तर विना तयारी मुक्त घोषणा गरिएकाले १९ वर्ष पूरा हुँदासमेत मुक्त कमैयाको अझै पूर्णतः पुनरस्थापना हुन सकेको छैन ।

अरुको घरमा विना ज्याला दासदासी जीवन व्यतित गरिरहेका थारु समुदायका कमैयालाई तत्कालिन सरकारले मुक्त घोषणा गरेको थियो । पश्चिम नेपालको दाङ, सुर्खेत, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा रहेको सो प्रथाबाट कमैयाहरु मुक्त भएपनि पुनरस्थापनामा ढिलाई हुँदा सकसपूर्ण जीवन जिउन बाध्य भए ।

अरु जिल्लामा पुनरस्थापनाको काम करिब सकिएको भएपनि कैलाली र वर्दियामा केही कमैयाको पुनरस्थापना हुन बाँकी रहेको मुक्त कमैया समाजले बताएको छ । त्यस्तै, जग्गा सट्टा भर्नाको काम भने अन्य जिल्लामा पनि बाँकी छ । नदि किनारको बलौटे जग्गा तथा नदीको बगरमा सरकारले दिएको जग्गा नदी खोलाले बगाएर लगेपछि मुक्त कमैयाले जग्गा सट्टाभर्नाको माग गर्दैआएका छन् ।

कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष वसन्ति चौधरीकाअनुसार कैलालीमा अझै ३८० परिवारलाई पुनरस्थापना गर्न बाँकी छ । चारसय परिवारको सट्टाभर्ना गर्न बाँकी छ ।

कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष वसन्ति चौधरीकाअनुसार कैलालीमा अझै ३८० परिवारलाई पुनरस्थापना गर्न बाँकी छ । चारसय परिवारको सट्टाभर्ना गर्न बाँकी छ । अन्य जिल्लामध्ये वर्दियामा केही कमैयाको पुनरस्थापना हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

सरकारले हरेक वर्ष मुक्त कमैया पुनरस्थापनाका लागि निश्चित बजेट छुट्याउने गरेपनि काम हुन सकेको देखिदैन । सरकारले अहिले स्थानीय तहलाई पुनस्र्थापनाको जिम्मेवारी दिएको छ । तर मुक्त कमैया बस्दै आएको जग्गा वन तथा सरकारको जग्गा भएकाले त्यसको समस्या समाधान गर्न स्थानीय सरकारलाई कठिन भएको मुक्त कमैयाहरुको बुझाई छ ।

सरकारले दुई लाख रुपियाँ जग्गाका लागि उपलब्ध गराउने प्याकेज पनि ल्याएको छ । तर मुक्त कमैयाले बसेकै ठाउँमा कित्ताकाट हुनुपर्ने माग गर्दैआएका छन् । यसअघिको सरकारले घर निर्माणका लागि ३५ क्वीफिट काठ उपलब्ध गराउने निर्णय गरेको थियो । तर जग्गा उपलब्ध नभएपछि काठको काम हुन नसकेको मुक्त कमैयाहरुले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया