काठमाडौं, साउन १३ गते । कैलालीको टीकापुरमा आपसी सदभाव कायम गर्ने भन्दै थारु समुदायले तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन २०७६ आयोजना गर्ने तयारी गरेका छन् ।
नयाँ संविधानले केही माग सम्बोधन गरे पनि अझै थारुसहित अन्य उत्पीडित समुदायको माग सम्बोधन गर्न बाँकी रहेको र थारुको थप अधिकार सम्बोधन गराउनेगरी थारु समुदायबीच तीन दिने अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरिएको आयोजकले बताएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको छ । २०७२ भदौ ७ गते टीकापुरमा अकल्पनीय घटना भएपछि सुरक्षाकर्मीसहित आठ जनाले ज्यान गुमाएका थिए । त्यसकै भोलिपल्ट ८ गते टीकापुरका थारु समुदायको घर पसलमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेको थियो ।
थारु समुदायले आफ्नो अधिकार माग गर्दा गैर थारु समुदायले आफूहरुमाथि हस्तक्षेप गरेको बुझाई थारु समुदायको छ । राज्यसँग अधिकार माग्दा गैरथारु समुदायले हस्तक्षेप गर्न नहुने भन्दै आयोजकले कार्यक्रममा त्यसको समिक्षा गर्ने बताएको छ ।
कार्यक्रम सफल पार्न रामप्रसाद चौधरीको संयोजकत्वमा मूल आयोजक कमिटि गठन गरिएको माधव थारुले बताउनुभयो । त्यस्तै अन्य ९ वटा उपसमिति गठन गरी तयारी थालिएको छ । आगामी भदौ ७ गते दिउँसो १ बजे उदघाटन कार्यक्रम शुरु गरेर भोलिपल्ट ८ गते दिनभरी बन्दछलफल गरिने र ९ गते घोषणापत्र जारी गरिने थारुले बताउनुभयो ।
हेर्नुहोस् कार्यक्रम सूची