थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?


लक्की चौधरी
काठमाडौं, साउन १९ गते । थारु समुदायले वर्षभरि मनाउने चाडको शुरुवातको रुपमा लिइने गुरही (गुर्या) पर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदै छन् ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।

गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला यो पर्व आउँछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।

थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई अन्य समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी अन्य समाजले नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । पश्चिमको जस्तो मनाउने प्रचलन पूर्वमा फरक छ ।

किन मनाइन्छ गुरही
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

चौराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ ।

केटाकेटी आकारको लुगाको पुतला बनाएर किन चौकमा लगेर ठटाउने गरिन्छ ? यसको राज के हो ? थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ भनिन्छ । तर अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले गाडेको जडालाई बुझाउँछ ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकोरुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरुले चना, मकै, केराउ, भटमास लगायतका परिकारका भुजा प्रसादकोरुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् ।

चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन् गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ ।

‘गुरही’ लाई ठटाइ सकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेरजाने र सुखलाभ प्राप्त हुने विश्वास छ थारु समुदायमा । गुरहीलाई नागपञ्चमीकोरुपमा मनाइने गरेपनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजागर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखासेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरुगरेका छन् ।

आजभोलि गाउँघरमा सुंगुर बंगुर काटेर रमाइलो गरी गुरही मनाउने प्रचलन शुरुभएको छ । चेलीबेटीलाइ माइतमा विशेष सम्मानसाथ खुवाएर पर्व मनाउने प्रचलन देखिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व
गुरही थारु समुदायको शुरुवातको पर्व हो । यसको आफ्नै धार्मिक महत्व छ । थारु समुदाय अझै हिन्दु हो कि बौद्धिष्ट वहसको विषय छ । तथापि परापूर्वकालदेखि हिन्दू धर्मको आचरण व्यवहार गरेको हामी देख्छौं । गुरही पर्वलाई नागदेवतासँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध हो । धर्म आफैमा राम्रो न नराम्रो हुँदैन । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने गर्छन् ।

धर्मलाई राजनीतिक विषय बनाएर धार्मिक विचलन ल्याउनु उचित हुँदैन । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त हुन्छ ।

यसको सामाजिक महत्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । अमनचयन र सौहाद्रताको विषय हो । यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्छ ।

उहिले गुरही पर्वमा खासै सुंगुर बंगुर (जिता) मारेर खाने प्रचलन थिएन । तर आजभोलि गाउँघरमा सुंगुर बंगुर काटेर रमाइलो गरी गुरही मनाउने प्रचलन शुरुभएको छ । चेलीबेटीलाइ माइतमा विशेष सम्मानसाथ खुवाएर पर्व मनाउने प्रचलन देखिन्छ । गुरही मनाउने प्रचलन र यसको महत्वमा एकरुपता गर्नसके पश्चिमदेखि पूर्वमा बस्ने सबै थारुबीच एकताको सन्देश जानेथियो । त्यसमा थारु अगुवाहरुले पहल लिन बाँकी छ ।

तपाईको प्रतिक्रिया