नाकाबन्दी जारी रहन्छः मोर्चा


IMG_20151210_001610

काठमाडौं, मंसिर २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेशको माग पूरा नहुँदासम्म मधेसको आन्दोलन नरोकिने बताउनुभएको छ ।

चारदिने भारत भ्रमण सम्पन गरेर स्वदेश फिर्ता भएको मोर्चा टोलीको तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरागर्दै अध्यक्ष यादवले सरकारको रवैया समाधानमुखी नभएकोले आन्दोलनको विकल्प नभएको बताउनुभयो ।

नाकाबन्दी बारे संचारकर्मीको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘हामीले समस्या समाधान खोज्न भारत भ्रमणमा गएका थिएनौं, समाधान नेपालभित्रै खोज्ने हो । तर, मधेशको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ, नाकाबन्दी पनि खुल्दैन ।’

यादवले मोर्चाको भारत भ्रमणले मधेश आन्दोलन बारेको भ्रम हटेको समेत दावी गर्नुभयो । ‘नेपाल सरकार तथा विभिन्न राजनीतिक दलहरुले मधेश आन्दोलन बारे भारतमा विभिन्न किसिमका अनर्गल भ्रमहरु फैलाएका थिए, त्यसलाई चीर्न मोर्चा सफल भएको छ’, अध्यक्ष यादवले भन्नुभयो, ‘मधेश आन्दोलन र यसका विभिन्न पक्षहरुबारे हामीले आफ्ना कुराहरु खुलस्त रुपमा राख्यौं, नयाँ सिराबाट छिमेकीसँग सम्बन्ध स्थापित भयो ।’

अध्यक्ष यादवले नेपाली कांग्रेसको प्रस्तावमा सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनको भावना विपरीत रहेको टिप्पणी गर्नुभयो । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकनको विवाद टुंग्याउने गरी गत शुक्रवार भएको सहमतिलाई अध्यक्ष यादवले ठाढै अस्वीकार गरेका छन् ।

‘तीन दलको संशोधन प्रस्ताव मधेशलाई भुल्याएर आन्दोलन तुहाउने षड्यन्त्र मात्रै हो’, सीमांकन नै मोर्चाको प्रमुख मुद्दा भएको भन्दै यादवले थप्नुभयो, ‘प्रमुख मागबाट नै विमुख गर्न यो उधारो प्रस्ताव आएको छ । कुनै पनि हालतमा हामीलाई स्वीकार्य छैन ।’
फोरम नेपालका अध्यक्ष यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बुधबार मध्यराती स्वदेश फर्कनुभयो ।

तपाईको प्रतिक्रिया