समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन


काठमाडौं, साउन २७ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले आदिबासी जनजातिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार यहाँ मन्त्री पुनले त्यस्तो बताउनुभयो । नयाँ संविधानले सबै जाति वर्ग र समुदायको अधिकार सुनिश्चित गरेको भएपनि अझै त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । यो सरकार आन्दोलनको उपलब्धी सुनिश्चित गर्न बनेको सरकार भएकाले आदिबासी जनजाति, पछाडि परेका सबै वर्गको अधिकारमा सचेत रहेको उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेको उपलब्धी विगतको आन्दोलनकै उपज भएको बताउँदै मन्त्री पुनले अब विगतकोजस्तो आन्दोलन गर्नु आवश्यक नरहेको बताउनुभयो । हिजो र आजको आन्दोलनमा तात्विक अन्तर छ, अब जनशक्तिलाई दक्ष बनाउने बेला आएको छ उहाँले भन्नुभयो, “कर्मचारीमा २७ प्रतिशत महिलाको सहभागिता भएको छ, राज्यको मूलधारमा विभिन्न जातजातिको दशौं हजारको सहभागिता छ ।”

अहिले जलस्रोतको उपयोग गर्नुमै देशको समुन्नति रहेको बताउँदै उहाँले जलस्रोतसँग आदिबासी जनजातिको नजिकको सम्बन्ध रहेकाले जलस्रोतको सही उपयोगमा लाग्न उहाँले आग्रह गर्नुभयो । “हिजोभन्दा आज समावेशीताको मुद्दा धेरै हदसम्म सम्बोधन भइसकेको छ, यद्यपि पर्याप्त भएको छैन” मन्त्री पुनले भएको युवा जनशक्तिलाई अब दक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।

मिडियाकर्मीहरु आवाज विहिनको आवाज बन्नुपर्ने बताउँदै उहाँले फोनिजले स्थापनाकालदेखि आदिबासी जनजाति, दलित, थारु, मधेसी, महिला र पछाडि परेको वर्गको अधिकारको सवालमा आवाज उठाउँदै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले नेपाली मिडिया अझै समावेशी चरित्रको हुन नसकेको बताउँदै सञ्चारमा मात्र समावेशी भएर नपुग्ने वल्की कानून र व्यवहारमा पनि समावेशीता चाहिने बताउनुभयो । सबै ठाउँमा समान सहभागिताको माग फोनिजले गरिरहेको बताउँदै उहाँले मिडिया नीति बनाउँदासमेत समान सहभागिता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, आदिबासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, पूर्व सांसद आङदावा शेर्पा, पत्रकार विजय सन्तोषी, रेम विश्वकर्मा, चन्द्रबहादुर कुलुङ, कौशल चेम्जोङ, लक्की चौधरी लगायतले आदिबसी सवालमा धारणा राख्नुभएको थियो । कार्यक्रममा चारजना पत्रकारलाई फोनिज सम्मान २०७६ प्रदान गरिएको छ ।

कार्यक्रममा गणेश राई (कान्तिपुर), शोभा श्रेष्ठ (नेपाल टेलिभिजन), कौशल चेम्जोङ (त्रियुगा रेडियो उदयपुर) र राजबहादुर गुरुङ (अनलाइन युनाइटेड खवर, कास्की) लाई जनही २० हजार रुपियाँ र सम्मानपत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा फोनिजका पूर्व पदाधिकारी तथा सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो ।

६० जिल्लामा शाखा रहेको फोनिजमा आठ जातीय पत्रकार संस्था आवद्ध छन् । देशभर करिब तीन हजार आदिबासी जनजाति पत्रकार फोनिजमा आवद्ध रहेको फोनिज केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया