भदौं ७ गतेलाई थारु समुदायले विद्रोह दिवशको रुपमा मनाउने


काठमाडौं, साउन ३२ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले टीकापुर घटना भएको दिन भदौ ७ गतेलाई विद्रोह दिवशकोरुपमा मनाउन सर्कुलर (परिपत्र) गरेको छ ।

अधिकारको माग गर्दै आन्दोलन गरिरहँदा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटना हुन गई एक प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यसको भोलिपल्ट आक्रोशित स्थानीयले थारुको घर पसलमा छानीछानी आगजनी तथा लुटपाट गरेका थिए ।

शान्तिपूर्ण आन्दोलन मार्फत राज्यसँग अधिकार माग्दा अप्रत्यासित घट्ना हुन पुगेको र त्यसबाट थारु समुदायमाथि ठूलो अन्याय भएको बुझाई थारु समुदायको छ । टीकापुर घटनामा दोसी आरोप लागेका कैलाली क्षेत्र नं. १ का सांसद रेशमलाल चौधरीसहित केही थारु अझै जेलमा हुनुहुन्छ । लक्ष्मण थारुसहित केही थारु जेलमुक्त भइसक्नुभएको छ ।

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको आव्हानमा भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा बृहत कार्यक्रमको तयारी भएका बेला थाकसले भदौ ७ गते उपत्यकासहित २४ जिल्लालाई विद्रोह दिवस मनाउन परिपत्र गरेको हो । यद्यपि तयारी समितिले सो कार्यक्रमलाई सदभाव कार्यक्रमको संज्ञा दिएको छ ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीको हस्ताक्षरमा जारी गरिएको परिपत्रले यसअघि असार २१ र २२ गते चितवनको सौराहमा भएको एकीकृत भेलाको निर्णयअनुसार कार्यक्रम तय गरिएको दावी गरेको छ ।

चितवन एकीकृत भेलाले जारी गरेको घोषणापत्रको १९ नम्बर बुँदामा भनिएको छ, “राजनैतिक टीकापुर घटना सत्याग्रह अन्तर्गत भदौ ७ गतेलाई थरुहट विद्रोहको दिनकोरुपमा मनाउने” । टीकापुर घटना घटेको चार वर्ष पूरा भइसक्दा समेत अझै थाकसले आधिकारीकरुपमा सो घटना थारुले घटाएको भनेर स्वीकार भने गरेको छैन ।

पूर्व न्यायाधीश गिरिशचन्द्र लालदास नेतृत्वको उच्चस्तरीय छानविन आयोगले समेत सो घटना थारुका कारण नभई अरुका कारण घटाइएको दावी गरेको छ ।  अधिकारका लागि थारु समुदायले विद्रोह गरेको दिनको स्मरणमा भदौ ७ गतेलाई विद्रोह दिवस मनाउने हो भने टीकापुर घटनाको जिम्मेवारी समेत थाकसले लिन सक्नुपर्छ । घटनाको जिम्मा नलिनेले विद्रोह दिवसकोरुपमा मनाउने परिपत्र गर्नुको पछाडि तालमेल नमिलेको देखिन्छ ।

हेर्नुहोस थाकसको परिपत्र

तपाईको प्रतिक्रिया