देश बनाउन सबैकोबीच सामाजिक एकता हुनुपर्छः सांसद राना थारु


राम दहित
धनगढी, भदौ ४ गते । प्रतिनिधि सभाका सांसद नारदमुनी राना थारुले देश बनाउन सबैको बीचमा सामाजिक एकता अनिवार्य रहेको बताउनुभएको छ । टीकापुरमा हुन गइरहेको थरुहट सम्मेलनले सामाजिक एकता र सामाजिक सद्भाव कायम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

धनगढी उपमहानगरपालिका–५, जाँईमा आयोजित हरेरी महोत्सव २०७६ कार्यक्रमको उद्घाटन गर्दै सांसद रानाले त्यस्तो बताउनुभयो । थरुहट थारुवान कार्यक्रम तयारी समितिले भदौं ७, ८ र ९ गते टीकापुरमा कार्यक्रमको आयोजना गरेको छ ।

‘देश बनाउन सामाजिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भावनामा एक हुन जरुरी छ’, सांसद रानाले भन्नुभयो– ‘थारु पहाडी एक ढिक्का भए मात्र देशको विकास सम्भव हुन्छ ।’ उहाँले थप्नुभयो, यो थारु हो, राना हो या पहाडी भनि छुट्याउन थाल्यो भने हाम्रो समाज र देश अगाडि बढ्नै सक्तैन ।’

हामी पहिला सबै नेपाली हौं भनि अगाडि बढे मात्र सामाजिक एकता, सद्भाव कायम भएर समाज र देश बलियो हुने सांसद रानाले बताउनु भयो । कार्यक्रममा सांसद रानाले धनगढीलाई मेगा सिटीको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस आर्थिक बर्षमा धनगढी बजारलाई मेगा सिटी बनाउन डिपीआर तयार गरिने र दुई बर्षभित्र मेगा सिटीको रुपमा अभियान थालनी गरिनेछ उहाँले भन्नुभयो । यसका साथै सांसद रानाले जाँईस्थित थारु देउथानको स्तरोन्नती तथा विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद दिल्लीराज पन्त, चुनकुमारी चौधरी, वडा नं. ५ का वडा अध्यक्ष हरिसिंह पातली लगायतले मनतब्य राख्नुभएको  थियो । हरेरी महोत्सवसँग थारुहरुको संस्कृति तथा पहिचान जोडिएकोले संरक्षण सम्वद्र्धन गर्न आवश्यक रहेको उहाँहरुको सुझाव थियो ।

जाइँ गाउँका भलमन्सा कुलवीर चौधरीले थारु समुदायको महत्वपूर्ण मानिने यो पूजा राज्यको उदासीनताका कारण पर्याप्त सहयोग नपाएको गुनासो गर्नुभयो । आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धनमा समस्या भइरहेको भन्दै उहाँले थारु संस्कृतिको संरक्षणमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

भाषा संस्कृति, कला, भेष हमार, पहिचानः हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान भन्ने नाराका साथ महोत्सव भदौ २ देखि ५ गतेसम्म तीन दिन सञ्चालन हुने जनाइएको छ ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहने हरेरी महोत्सव मूल आयोजक समितिका सचिव रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी, महोत्सवमा विभिन्न थारु समुदायका खानाका परिकार ढिक्री, अण्डीको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार आकर्षणका रुपमा स्टलमा राखिएको सचिव चौधरीले बताउनुभयो । जाँई गाउँका थारु समुदायले २०७३ देखि हरेरी महोत्सव मनाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया