पुनरनिर्माण प्राधिकरण विधेयक पारित हुँदासम्म मोर्चाले संसद अवरुद्ध नगर्ने


IMG_20151210_001610

काठमाडौं, मंसिर २४ गते । प्रमुख तीनदलको बैठकमा मधेसी मोर्चाका नेताहरुले पुनरनिर्माण प्राधिकरण विधेयकलाई पारित गराउनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएपछि प्रमुख तीनदल र मोर्चाबीचको वार्ता सकारात्मक बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार करिब आधाघण्टा बसेको बैठकमा मोर्चा सम्बद्ध दलका नेताहरुले भूकम्प पीडितको पुनस्र्थापनाका लागि सरकारद्वारा तयार गरिएको प्राधिकरण विधेयक मानवीय संवेदनासँग जोडिएको विषय भएकाले त्यसको पारितमा कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाउनु भएको हो । सरकार र मोर्चाबीच नियमितजसो बस्दैआएको वार्ताले सकारात्मक हुन नसकिरहेका बेला विहिबारको बैठकले आगामी वार्ता फलदायी हुने विश्वास बढेको बैठकमा सहभागी नेताहरुको बुझाई छ ।

बैठकमा मधेसी मोर्चा सकारात्मक देखिएपछि सरकारको तर्फबाट गरिने अन्य सहमतिमा पनि लचिलो हुन तयार रहेको विषय प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । मोर्चाका नेताले सरकारसँगको वार्ता एक कदम अगाडि बढेर सकारात्मक दिशामा गएको दावी गर्नुभएको छ ।

सरकारले उठाएको विषयमा मोर्चा सम्बद्ध दलका नेताहरु सहमति जनाएपछि सरकारले पनि मोर्चा सम्बद्ध दलले अगाडि सारेको ११ बुँदे मागमा गम्भीर छलफल गर्न तयार हुने प्रतिवद्धता बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार हुने वार्तामा ११ बुँदे मागबारेको विषयमा छलफल शुरु हुनेछ ।

बैठकमा मोर्चा सम्बद्ध दलका नेताहरुले प्रमुख तीन दलले ल्याएको तीनबुँदे प्रस्तावमा छलफल गर्न नसकिने अडान बैठकमा दोहो¥याएपछि प्रमुख तीन दलका नेताहरु ११ बुँदे प्रस्तावमा छलफल गर्न तयार भएको नेता यादवले गोरखापत्रलाई जानकारी दिनुभयो । “प्रधानमन्त्री ओलीले शुक्रबार ११ बुँदेमा छलफल हुने बताउनुयो तर बैठक कति बजे कहाँ बस्ने तय भइसकेको छैन” यादवले भन्नुभयो ।

मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुले प्राधिकरण विधेयक पारित गर्नमा सहयोग गर्ने प्रतिवद्धताले केही हदसम्म वार्ता सकारात्मक हुने देखिए पनि अन्य विषयमा मोर्चाले अडान कायमै राखेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।

“यसअघिको सरकारले दर्ता गरेको समानुपातिक समावेशी सम्बन्धको संविधान संशोधनको विधेयक पनि पारित हुन दिनुस् भनेर हामीले बैठकमा आग्रह ग¥यौं तर मोर्चाका नेताहरुले प्राधिकरण बाहेक अन्य विषयमा तत्काल सहमति जनाउन सक्दैनौं भन्नुभयो” उपसभापति पौडेलले भन्नुभयो ।

सद्भावना पार्टीका सहसंयोजक लक्ष्मणलाल कर्णले पुनरनिर्माण प्राधिकरण विधेयक पारित गर्नेबेला संसद बैठक अवरुद्ध नगरिने बताउनु भयो । सो विधेयक पारित भएपछि अर्को सहमति नबन्दासम्म संसद बैठक अवरुद्ध जारी रहने बताउनुहुँदै नेता कर्णले शुक्रबारबाट हुने वार्तामा मोर्चाले उठाएको ११ बुँदे मागबारे छलफल केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेसी मोर्चाले आफूले उठाएको ११ बुँदे मागको बारेमा प्याकेजमै सहमति हुनुपर्ने प्रस्ताव तीन दलका नेतासमक्ष राखेको छ । सो विषयमा प्रमुख दलका नेता पनि प्याकेज सहमतिका विषयमा सकारात्मक देखिनुभएको बुझाई मधेसी नेताहरुको छ ।

विहिबार बसेको बैठकको शुरुमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रमुख तीनदलको ३ बुँदे प्रस्ताव र मोर्चाको ११ बुँदे प्रस्तावको विषयमा छलफलका लागि विषयप्रवेश गराउनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो । प्राधिकरणका विषयमा सहमति भएपछि अन्य विषयमा अर्को बैठकमा अगाडि बढाउने नेताहरुले बताउनुभएपछि बैठक स्थगित गरिएको तमसपाका नेता यादवले जानकारी गराउनुभयो ।

देशले भारतीय अघोषित नाकाबन्दीको शिकार भइरहेका बेला र संसद बैठक अवरुद्ध भइरहेका बेला विहिबारको बैठकले सकारात्मक सन्देश दिएको छ । मधेसी मोर्चाका नेताहरु बुधबार मात्रै भारत भ्रमणबाट फर्किनु भएपछि बैठक सकारात्मक बनेकोमा नेताहरु खुशी हुनुभएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, नेकपा (एमाले) का नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसबाट उपसभापति पौडेल, महामन्त्री कृष्ण सिटौला, नेता डा. रामशरण महत, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता थियो ।

त्यस्तै, मोर्चाबाट समाजवादी संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तमसपाका वरिष्ठ नेता रामनरेश यादव, सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया