थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशन चितवनमा हुने, तयारी पूरा


सन्तकुमार चौधरी
चितवन, भदौ १९ गते । चितवनको सौराहामा आयोजना हुन लागेको थारु पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनका लागि भदौं २० गतेनै देशभरका थारु पत्रकार चितवनको सौराहा पुग्दैछन् । संघको देशभर १८ जिल्लामा शाखा छ । जहाँ करिब अढाईसय पत्रकार आवद्ध छन् ।

भदौं २१ गते सौराहा गैडाचोकस्थित थारु कल्चर हाउसमा महाधिवेशनको उद्घाटन हु्ने आयोजकले बताएको छ । कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन पूर्व प्रभातफेरि निकाल्ने तयारी गरिएको महाधिवेशन समारोह समिति संयोजक कारी महतोले जानकारी दिनुभयो ।

थारु पत्रकार संघले गरेको कामको समिक्षा सँगै नयाँ केन्द्रीय कार्य समिति चयन गर्दै महाधिवेशन २२ गते सकिनेछ । थारु पत्रकार संघको केन्द्रीय नेतृत्वका लागि चितवनबाट जनता टेलिभिजनका पत्रकार सन्तकुमार चौधरी, दाङवाट लौंव अग्रासन पत्रिकाका पत्रकार सन्तोष दहित र एभिन्यूज टेलिभिजनका किशोर चौधरी अध्यक्ष पदका लागि चर्चामा छन् ।

थारु पत्रकार संघ चितवनको आतिथ्यतामा आयोजना हुन लागेको महाधिवेशनको बन्दसत्र होटल पार्क इन सौराहाको सभाहलमा हुनेछ । २०६७ साल चैत १६ गते विधिवत दर्ता भई समिति विस्तारमा लागेको संघले देशभर आफ्नो शाखा कमिटी गठनको रफ्तारमा छ । थारु बहुल जिल्लामा संघको शाखा कमिटिहरु विस्तार हुनेक्रममा छन् । यसअघि तेस्रो महाधिवेशन सुनसरीको झुम्कामा भएको थियो ।

यसअघि संघको अध्यक्षमा विनिता चौधरी, लक्की चौधरी, कृष्णराज सर्वहारी भइसक्नुभएको छ । अहिले मदन चौधरी अध्यक्षमा हुनुहुन्छ । उहाँको कार्यकाल सकिएपछि चौथो महाधिवेशन हुन लागेको हो । अध्यक्षका प्रत्यासी किशोर हालका महासचिव, दहित केन्द्रीय सदस्य र पत्रकार सन्तकुमार पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया