काठमाडौं, भदौ २५ गते । संविधान जारी गरेको दिन असोज ३ गतेलाई सरकारले दिपावलीकोरुपमा मनाउने तयारी गरिरहेका बेला आन्दोलनरत विभिन्न आठ सामाजिक संस्था आवद्ध घटकहरुले भने कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।
नेपालको संविधान २०७२ आदिबासी जनजाति, थारु, दलित, मुस्लिम, मधेसी, महिला तथा उत्पीडित वर्गको माग सम्बोधन नगरेको भन्दै विभिन्न घटकहरुले संविधानका धारा संशोधन गरी माग सम्बोधन गराउन दवावमूलक कार्यक्रमको घोषणा गरिएको आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बताउनुभयो ।
संविधानले उत्पीडित समुदालाई धोखा दिएको भन्दै अध्यक्ष बरामले सरकारले तयारी गरेको संविधान दिवसको दिनको दिपावली नमनाउन आव्हान गरेको छ । “असोज ३ गते हामी दिपावली मनाउन सक्दैनौं, सरकारका सबैखाले कार्यक्रम बहिष्कार गर्छौं” अध्यक्ष बरामले बताउनुभयो ।
रिपोर्टर्स क्लवमा बुधबार पत्रकार सम्मेलन गर्दै आन्दोलनमा रहेका घटक संस्थाहरुले संयुक्तरुपमा सरकारी कार्यक्रममको विरोध गरेका हुन् । विरोधको कार्यक्रम शान्तिपूर्ण हुने तर सरकार आइलागेमा जाइलाग्ने तयारीसाथ रहने अध्यक्ष बरामले चेतावनी दिनुभयो ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले संविधानका धारा १८, ३८, ४२ र ४७२ तथा अनुसुीची ४ उत्पीडित जनताको विरोधी भएकाले त्यसलाई संशोधनको माग आफूहरुले राखेको बताउनुभयो । सातवटा प्रदेशको सिमाङ्कन अवैज्ञानिक तथा त्रुटीपूर्ण रहेकाले संविधान संशोधनको विकल्प नरहेको बताउँदै संयोजक थारुले संविधानले माग सम्बोधन नगर्दासम्म आन्दोलन जारी रहने बताउनुभयो ।
आन्दोलनको कार्यक्रम
आन्दोलनरत विभिन्न घटकहरुले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यक्रमअनुसार भदौ २५ देखि ३० सम्म देशभर प्रचारप्रसार, अपिल, गोष्ठी गर्ने, असोज १ गते दिउँसो ३ बजे देशैभर पहिचानसहितको व्यानर, प्लेकार्ड, जुलुश प्रदर्शन गर्ने, असोज ३ गते साँझ ७ देखि ७ः३० बजेसम्म देशभैभर ब्ल्याकआउटको कार्यक्रम गर्ने तथा असोज ३ गते नै सरकार तथा विदेशस्थित नेपाली राजदुताबासको कार्यक्रममा सहभागी नहुने रहेको छ ।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तीमा आदिबासी जनजाति महासंघका जगत बराम, मधेसीको तर्फबाट सरोज राय, दलितको तर्फबाट दलमदृन कामी, मुस्लिमको तर्फबट नजरुल हसन, महिलाको तर्फबाट चिनिमाया माझी, जनजाति अन्तरपार्टीको तर्फबाट इन्द्रबहादुर गुरुङ, चन्द्रविक्रम राई, रत्नविक्रम स्याङ्वो, प्रा.डा. ओम गुरुङ, कुमार लिङ्देन लगायतको हस्ताक्षर रहेको छ ।
हेर्नुहोस् विज्ञप्तीको पुर्णपाठ