‘कुरा गर्छु म राष्ट्रियताको !’

कविता

लक्की चौधरी

मेरो आङ्को, लुगा विदेशी
मेरो पाउको, जुत्ता विदेशी
केसको, मेहँदी विदेशी
श्रीमतीको, साडी विदेशी
कुरा गर्छु म, राष्ट्रियताको !!

दौरा–सुरुवाल कपडा के हो ?
त्यसमाथि लाउने इष्टकोट
गन्जीदेखि अन्डरवेयरसम्म
केशको काँटा, काइँयो विदेशी
कुरा गर्छु म, राष्ट्रियताको !!

मेरो देशमा, के बन्छ, खै ?
सिउने सियो, कि धागो
पकाउने ग्याँस, कि आगो ?
नङकटर पनि, उही विदेशी
कुरा गर्छु म, राष्ट्रियताको !!

पानी पर्न’नि, पश्चिमी वायू
विदेशी मेशिनले, तोक्छ आयू
पाइला हिड्न, विदेशी सहयोग
साँझ–विहान, रामदेवकै योग
कुरा गर्छु म, राष्ट्रियताको ! !

हिजोसम्म, बारीकै खान्थें,
मनलागे खायौ, नत्र फाल्थें ।
आज मलाई, अन्न’नि पुग्दैन
स्वदेशमा यो, खुट्टा’नि रुक्दैन
कुरा गर्छु म, राष्ट्रियताको !!

कसोरी बचाउँ, मेरो राष्ट्रियता
कहाँ जचाउँ, मेरो राष्ट्रियता
कुरामात्र ठूलो, काम म गर्दिन
आफ्नो लागि म, कहिल्यै मर्दिन
कुरा गर्छु म, राष्ट्रियताको !!

विरामी पर्छु, उपचार विदेशी
पत्रिकाको, समाचार विदेशी ।
साँझ–विहान, छाकैपिच्छे खाने
हुँदा–हुँदा मेरो, अचार विदेशी ।
कुरा गर्छु म, राष्ट्रियताको !!

विवाहपछि, हनिमुन विदेशी
श्रीमतीले लाउने, सून विदेशी ।
समुद्री छाल, आहा ! क्या मज्जा
अंग्रेजी साल, आहा ! क्या मज्जा
कुरा गर्छु म, राष्ट्रियताको !!

अहो ! यो त, अति भयो,
मेरै कारण हो, खति भयो ।
यो मन त, मेरा नेपाली हो
यो तन त, मेरो नेपाली हो
त्यसैले, कुरा गर्छु म, राष्ट्रियताको !!

धनगढी –५, कैलाली

तपाईको प्रतिक्रिया