सुनिल चौधरी
इनरुवा, भदौ २९ गते । तराईका महिलाको महान पर्व “जितिया” को अवसरमा शनिवार सामुहिक जितिया कार्यक्रम गरिएको छ । इनरुवा ६ मधेशास्थित गाउँमा पहिचान र सहकार्य तथा एकताको सन्देश दिदै सामुहिक रुपमा जितिया मनाइएको हो ।
आउँदो असोज ५ गते आईतवारका दिन जितिया पर्वको अवसरमा थारु, दलित, अल्पसंख्यक महिलाले सामुहिक रुपमा सो पर्व मनाएका हुन् । बिभिन्न जातजातिको एकता हुन सके पर्वको पनि महत्व बढ्ने विश्वास गरिएको छ ।
सहकार्य अनुसार मनाएको जितिया पर्व पुर्वमा यो पहिलो पटक नै हो । प्रतिनिधि सभा सांसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जटजाटिन्, झुमैर, बिरहैन, चाचैर गीत प्रस्तुत गरी आदिमकाल देखिबाट नै मनाउँदै आएको संस्कारको संरक्षण गर्नु पर्ने सचेतनामा जोड दिइएको छ ।
जितिया पर्व मनाउने तराईका बिभिन्न समुदायका महिलाहरु एकै ठाउँमा मनाउँदा एकताको सन्देश गएको उहाँले बताउनु भयो ।
वडाका बिभिन्न टोलबाट साँस्कृतिक झाँकीसहितको महिलाहरु सहभागी भएका थिए । जितिया पर्वको धार्मिक मान्यताअनुसार कार्यक्रम परिसरमा पोखरी लगायतका बिधिहरु गरी पूजा अर्चना गरेका थिए ।
थारु लगायतका महिलाले आफनो भेष पहिरन लगाएर आउँदा पहिचान झल्किएको कार्यक्रमका अतिथी कर्णबहादुर श्रेष्ठले बताउनुभयो । जितिया पर्व मनाउने तराईका बिभिन्न समुदायका महिलाहरु एकै ठाउँमा मनाउँदा एकताको सन्देश गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कोषराज अधिकारी, मनु चापागाई, कमल कार्की, लक्षमण कार्की, सत्यनारायण चौधरी, राजु दाहाल लगायतको सहभागिता थियो । जितिया पर्व बिशेषगरी महिलाले मनाउने पर्व हो । बाल बच्चाहरुको दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने महिलाको महान पर्व हो यो पर्व ।
यस बर्ष शुभ साईतमा जितिया परेकोले हप्ता अघिदेखि नै रौनक छाएको छ । शनिवार लायह, आईतवार उपास र मंगलवार पारन परेकोले शुभ मानिन्छ । शुभ मानेकाले यस बर्ष महिलाले जितिया उठाईदै छन् । थारु समुदायको संस्कार अनुसार बालबच्चा भए शुभ साईत पर्दा मात्र जितिया गर्न पाउने भएकोले यसबर्ष धेरैले जितिया पर्व उठाउने तयारी गरेका हुन् । १८ बर्ष पछि सुईध तथा शुभ परेकोले यसलाई खर जितिया पनि भनिन्छ ।