कथा वाचनलाई प्राथमिकता दिंदै उत्थान समाजले जितिया मनाउने


सुनिल चौधरी
झुम्का,असोज २ गते । थारु चेलीको विशेष पर्व जितियाको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले कथा वाचनलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्ने भएको छ । जितिया पर्व यस बर्ष शुभ दिन तथा शुभ साईतमा हुने भएकोले सुईध लाग्ने बिश्वास अनुसार सो अवसरमा कथा वाचनलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्न लागेको समाजले बताएको हो ।

प्रत्येक बर्ष रामधुनी १ जितमहान चौकमा मनाउदै आएको छ । यस बर्ष पनि निरन्तरता दिदैं पर्वलाई भव्यतासाथ मनाउने तयारी भएको उत्थान समाजकी अध्यक्ष सिता थरुनीले जानकारी दिनुभयो ।

उत्थान समाजले गर्न लागेको जितिया बिशेष कथावाचन तथा साँस्कृतिक कार्यक्रम २०७६ मा कथा वाचन र जितियाको बिधिअनुसार पूजा अर्चना गरिने थरुनीले बताउनुभयो । महिलाले जितिया सामुहिक रुपमा मनाउने उहाँले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा जितिया मुर्ति, पोखरी लगायतका धार्मिक मान्यता रहेको सामाग्री राखिने आयोजकले बताएको छ ।

जितिया पर्व बिशुद्ध तराई नारीहरुको धार्मिक आस्थाको पर्व भएकाले कुनै राजनीतिकरण नगरी धार्मिक बिधिअनुसार मनाउने तयारी भएको अध्यक्ष थरुनीले बताउनुभयो । यस बर्ष झनै शुभसाईत भएकाले राजनीतिक दलका ब्यक्तिलाई जितिया कार्यक्रममा भाषण दिन लगाए अशुभ मानिने उनको बुझाई छ ।

शुभ साईतमा पुर्ण रुपमा कथा सुनेर उपासना गर्नाले पर्व सफल हुने धार्मिक बिश्वास रहेको स्थानीय कथावाचिका लालमैन चौधरीले बताउनु भयो । जिमुतवाहन भगवानलाई ब्रतालुहरुले बिधिवत पूजा गर्नुपर्ने भएकाले कथा वाचन महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

कथावाचन र बिधिवत पूजा अर्चना गर्नाले जितमहानले सबैको मनोकामना पूरा गर्ने विश्वास उहाँले गर्नुभयो । कार्यक्रम असोज ५ गते आईतवार बिहान १० बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।

कथा वाचन तथा बिधिवत रुपमा जितमहान भगवानको कथा श्रवणका लागि सहभागी हुन आयोजकले ब्रतालुमा अनुरोध गरेको छ । १८ बर्ष पछि पर्वको सुईध लागेकाले यस बर्ष नव बिवाहिता र बालबाच्चा भएकाहरुले समेत जितियामा व्रत बस्नसक्ने बताइएको छ । जितिया बिशेषगरी श्रीमान, बाल बच्चाको दीर्घायु तथा कुनै अनिष्ट वा ठुलो दुर्घटना नहोस भन्ने धार्मिक मान्यता राखेर मनाउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया