सुनसरीको झुम्कामा थारु महिला उत्थान समाजको भव्य जितिया कार्यक्रम


सुनिल चौधरी
झुम्का, असोज ७ गते । जितिया पर्व २०७६ को अवसरमा आईतवार बिबिध कार्यक्रम गरी थारु महिलाले मनाएका छन् । तराईका महिलाको महान पर्व जितिया शुभ साईतमा परेकोले सामुहिक रुपमा जितिया कथा वाचनसहित साँस्कृतिक कार्यक्रम गरी मनाएको हो ।

सन्तानको दीर्घायु तथा ठूलो दुर्घटनाबाट बच्न पारिवारिक सुख समृद्धिको कामना गरी महिलाले पर्वमा बिधिवत ब्रत बसेका हुन् । शुभ दिनमा खरजितिया परेकाले गत बर्षहरु भन्दा यस बर्ष जितिया पर्व भव्य भएको छ । खरजितिया भएमात्र जितिया सुरुवात गर्ने परम्पराअनुसार नवबिवाहित र सन्तान भएपनि जितिया ब्रत नलिएकाहरुले यस बर्ष जितिया पर्वमा निराहर ब्रत बसेका थिए ।

पर्वलाई धार्मिक बिधिअनुसार गाउँटोलमा पोखरी बनाई सो पोखरीमा बसेर कथा श्रवण गरी ब्रत सफल गरेका छन् । कथा वाचन पश्चात् टोल टोलमा महिलाले सामुहिक रुपमा भेला भई साँस्कृतिक कार्यक्रम गरेका थिए ।

एक हप्ता अगाडि देखिनै साँस्कृतिक कार्यक्रम गर्दैआएका थिए । पर्वको दिन आईतवार बिभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । रामधुनीको झुम्कामा थारु महिला उत्थान समाज र थारु कल्याणकारिणी सभा जिल्ला सुनसरीले कार्यक्रम गरी मनाएका छन् । त्यसैगरी इटहरी १५ पडरीया टोलमा कार्यक्रम गरी जितिया मनाइएको छ । यसभन्दा एक दिन अगाडि इटहरीको कान्छिचोक, बराह नगरपालिमा पनि मनाइएको थियो ।

सो क्रममा झुम्कास्थित थारु महिला उत्थान समाज रामधुनी सुनसरीले कथा वाचनसहित साँस्कृतिक कार्यक्रम गरी जितिया भव्यरुपमा सम्पन्न गरेको छ । रामधुनी नगरपालिकाको उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा रामधुनी १ जितमहान चोकस्थित आयोजित कार्यक्रममा उल्लेख्य थारुको सहभागिता थियो । उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा बिहानैबाट चार पोखरी बनाई कथा वाचनबाट कार्यक्रम सुरुवात गरिएको थियो ।

कथा झखनदास चौधरीले वाचन गरेका थिए । जितमहान भगवानको कथा वाचन श्रवण गर्दै पोखरीमा व्रतालु महिलाले सामुहिक पूजाअर्चना गरेका थिए । कथा वाचन पश्चात थारु महिला कलाकारको कला प्रदर्शन गरिएको थियो । थारु भाषाको गीतमा बाल कलाकारदेखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुती रहेको थियो ।

सौल डान्स स्टुडियो, रामधुनी, ईटहरी, डुम्राहा, बक्लौरी, पिपराटोलबाट आएका स्थानिय कलाकारको प्रस्तुतिसंगै कैलालिबाट आएका गायन क्षेत्रका कलाहरुले प्रस्तुति गरेका थिए । कैलालिबाट आएकी स्वरकी धनि अनु चौधरीले “चुरी कंगना पायल” बोलको गीत प्रस्तुत गरेकी थिइन् । सो गित थारु भाषाको चर्चित गित मानिन्छ ।

त्यसैगरी थारुका प्रसिद्ध कलाकार सुनिता दहित, नरेश जोगि, निकिता मण्डल थारु, निर्मला चौधरी, सुनिल चौधरीले आफ्नो प्रस्तुती राखेका थिए । बृहत उपस्थितकासाथ सञ्चालन भएको सो कार्यक्रममा उपप्रमुख चौधरीले ब्रतालुमा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा रामधुनी वडा १ का वडा अध्यक्ष महेश चौधरीले जितिया पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै महिला शसक्तिकरणका मुद्दा उठान गर्नुभयो ।

वडा ४ का वडा अध्यक्ष मनेष चौधरी, वडा ६ का हेमनारायण राजधामी, वडा ७ का वडा अध्यक्ष केशव गौतम, नगर योजना प्रमुख हर्षलाल चौधरी, शिक्षा शाखा प्रमुख राजन गेलाल, कार्यपालिका सदस्य सर्मिला बिक, लक्ष्मि चौधरी, टिका लक्ष्मि श्रेष्ठ, वडा सदस्य पार्वति सरदार, नेपाली काँग्रेस नगर सभापति सुदिप अधिकारी, अपाङ्ग संरक्षण समिति वडा १ अध्यक्ष राधा चौधरी, वडा ५ की कन्चन चौधरी लगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष बिमला चौधरीले स्वागत् मन्तब्यले स्वागत गरेकी थिईन् । कार्यक्रमको उद्देश्यबारे उत्थानकी सदस्य सनम चौधरीले प्रष्ट्याएकी थिईन् । कार्यक्रममा जितिया महत्व बारेमा कोषाध्यक्ष आशा चौधरीले जानकारी गराएकी थिईन् भने कार्यक्रम सुमिता चौधरी, प्रिति चौधरी र सुनिल चौधरीले सञ्चालन गरेका थिए ।

अध्यक्ष थरुनी सम्मानित
यसैबीच थारु महिला उत्थान समाजमार्फत थारु समुदायको जनचेतना बृद्धि तथा सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजकी अध्यक्ष सीता थरुनी समाजिक दिवसको अवसरमा सोमबार सम्मानित हुनुभएको छ । रामधुनी नगरपालिकाले दिवसको अवसरमा अध्यक्ष थरुनीलाई सम्मानपत्रले सम्मानित गरेको थियो । थारु महिला तथा पछाडि परेका वर्गका महिलाको उत्थान तथा सचेतनामा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया