फरवार्डले गर्यो कालीकुमारी चौधरीको दुई लाख कर्जा ऋण मिनाहा


हमार पहुरा अनलाइन समाचार
कञ्चनपुर, असोज ११ गते । ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरी कार्यक्रम गरिरहेको फरवार्ड कम्युनिटी माइक्रो फाइनेन्स वित्तिय संस्थाले कञ्चनपुरकी कालीकुमारी चौधरीले लिएको दुई लाख रुपियाँको ऋण मिनाहा गरिदिएको छ ।

कञ्चनपुरको बेलोरी कलकत्ता शाखाबाट कालीकुमारीले लिएको ऋण मिनाहा भएपछि उनका परिवारलाई ठूलो राहत भएको छ । कालीकुमारीको निधन भएपछि परवार्डले मानवीयताका आधारमा सो ऋण मिनाहा गरेको हो । परवार्डका धनगढी प्रमुख सञ्जयकुमार चौधरीका अनुसार गत भदौ ८ गते कालीकुमारीले फरवार्डबाट ऋण लिएकी थिइन् ।

ऋण लिएको ११ दिनमै भदौ १९ गते उनको निधन भएपछि परिवार विचल्लीमा परेको थियो । उद्योग धन्दा गर्ने उद्देश्यले लिएको कर्जा ऋणको सदुपयोग हुन नसक्दा सामान्य आर्थिक हैसियत रहेका परिवारको विचल्ली परेको देखेर फरवार्डले कर्जा मिनाहा गरी क्रिया खर्चकालागि १२ हजार रुपियाँ सहयोग पनि गरेको छ ।

फरवार्डका धनगढी प्रमुख चौधरीसहित संस्थाका कर्मचारीहरु कालीकुमारीको घरमै गएर आर्थिक सहयोग प्रदान गरेका थिए । मृतक चौधरीको एक छोरा र एक छोरी छन् । फरवार्डको सहयोगले ठूलो राहत मिलेको परिवारका सदस्यले बताएका छन् ।

सुनसरीको दुहवीमा केन्द्रीय कार्यालय रहेको परवार्डको ४० जिल्लामा शाखा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीको नेतृत्वमा फरवार्ड चलिरहेको छ । सो संस्थाले करिब अढाई लाख महिलाको बीचमा सशक्तिकरणको कार्यक्रम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया