
धनगढी, कात्तिक ९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको छ । अध्यक्षमा भीमबहादुर चौधरी चयन भएका छन् ।
कैलालीको धनगढीमा भएको प्रदेश महाधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा किशोर तामाङ, चन्द्रिका चौधरी, महासचिवमा धनबहादुर कुश्मी, दुई सचिवमा सुधराम दहित र रन्जित लामा, कोषाध्यक्षमा बलराम चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा दिनेश चौधरी, सुमरिन चौधरी, नरेन्द्र चौधरी र हरि चौधरी सर्वसम्मत चयन भएका हुन् । कार्यक्रमको उदघाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो । मन्त्री भट्टले जनतालाई सकारात्मक खुराक पस्किन पत्रकारसँग आग्रह गर्नुभयो । कलमको शक्ति ठूलो भएकाले त्यसको दुरुपयोग हुन नहुने उहाँले आग्रह गर्नुभयो ।

प्रदेश कानूनमन्त्री प्रकाश शाहले पत्रकार देशका पहरेदार भएकाले राम्रो सिर्जना गर्न आग्रह गर्नुभयो । पत्रकारले जस्तो सृष्टि गर्छन्, समाजले त्यस्तै दृष्टि बनाउँछ भन्नुहुँदै मन्त्री शाहले सरकारको राम्रो कामर्लाइ राम्रो र गलत कामलाई गलत भन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, उपाध्यक्ष लक्की चौधी, प्रदेश सदस्य तारा लामा, वीरमान चौधरी, चुनकुमारी चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, जनजाति नेता दलबहादुर घर्ती, हेमन्ती चौधरी, अशोक राजी लगायतले बोल्नुभएको थियो ।
फोनिजले प्रदेश १, २, ३, ४ मा यसअघि नै प्रदेश महाधिवेशन सम्पन्न गरिसकेको छ । अब प्रदेश ५ र कर्णाली प्रदेशमा प्रदेश महाधिवेशन सम्पन्न हुन बाँकी छ । २०५६ सालमा स्थापित फोनिजको देशभर ५६ जिल्ला शाखा र ६ विदेश शाखा रहेका छन् ।
कुश्मी पुरस्कृत

कञ्चनपुरका पत्रकार धनबहादुर कुश्मी जगत चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनुभयो । उहाँलाई मुख्यमन्त्री भट्टले नगद १० हजार सहित सम्मानपत्रले सम्मानित गर्नुभयो ।




