आज भाइटीका, दिदीवहिनीले दाजुभाइलाई पञ्चरङ्गी टीका लगाउँदै


लक्की चौधरी
काठमाडौं, कात्तिक १२ गते । यम पञ्चकको अन्तिम दिन आज दिदी वहिनीले दाजुभाइलाई भाइटीका लगाएर मनाउँदैछन् । आजकै दिन नेवार समुदायले महपूजा पनि गरिरहेका छन् । नेवार समुदायले भाइटीकालाई किजा पूजाकोरुपमा मनाउँछन् । त्यसैले कात्तिक १३ गते पनि सरकारले सार्वजनिक विदा दिएको छ ।

थारु समुदायले भाइटीका लगाउने खासै प्रचलन छैन । तर एकअर्काको देखासिकीका कारण आजभोलि दिदीभाइ भाइवहिनीबीच टीका लगाउने प्रचलन शुरुभइसकेको छ । थारु समुदायले तिहारलाई डेवारी भनेर भन्छन् । तिहारमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गर्ने गरिन्छ ।

लाखौं वर्ष पहिले यो धर्तीमा प्रकृति बाहेक केही थिएन । सूचना आदान प्रदान गर्ने माध्यम नभएकाले कागलाई सन्देश वाहककोरुपमा बुझिन्थ्यो । घरको आँगन, दैलोमा, छाना या तौवामा बसेर काग कराउँदा, पाहुना आउने सन्देश लिएर काग आएको भनिन्थ्यो । अहिले पनि त्यो बुझाई कायमै छ ।

राम्रो स्वरमा काग बोल्दा शुभ हुने र नराम्रो स्वरमा, जोडले कराउँदा अनिष्ट हुने विश्वास गरिन्छ । सन्देश प्रवाह गरेकै कारण कागको पूजा तिहारमा शुरुभयो ।

त्यस्तै, कुकुर घरको पहरेदारी मात्र गर्ने होइन, वनजंगलमा शिकार गर्ने काम पनि गथ्र्यौ । उहिलेका मानिसहरु जंगली जनावरकै शिकार गर्थे । कृषियुग शुरु नहुँदासम्म त्यही जंगली जीव जनावरको शिकार गर्ने तथा घरका सदस्यहरुको रक्षा गर्नमा कुकुरले सहयोग गथ्र्यौ । त्यसैले कुकुर तिहार शुरुभएको हो ।

त्यस्तै, कृषि युग शुरुभएपछि मानिसले पशुपालन गर्न थाले । गाईको दुध सेवन गर्न थाले । त्यसपछि गाईलाई आमाको दर्जा दिने काम भयो । गाईले दुधमात्र होइन, बाच्छो जन्माएर हलगोरु दिएको र कृषि काममा सहयोग गरेको भन्दै गाईको पूजा गर्न शुरुभयो । गोरुले कृषि उत्पादनमा सहयोग गरेकोभन्दै गोरुको पनि पूजा शुरुभयो ।

उहिले दाइ दिदीवहिनी भाइबीचको सम्बन्ध एउटा पारिवारिक सम्बन्धमा कायम हुन सकेको थिएन । पछि दाई, भाइवहिनीबीच टीका लगाउन शुरुभएपछि दाई, भाईबहिनीबीचमो अटुट सम्बन्ध कायम भयो । एक अर्कालाई मान्ने, सत्कार गर्ने, पूज्ने प्रचलन शुरुभयो । यसले दाई, भाइवहिनीबीचको सम्बन्धलाई बाँध्ने काम गर्यो ।

दिदीवहिनीले दाई भाइलाई सप्तरंगी टीका लगाइदिंदा आयु बढ्ने विश्वास गरिदैआएको छ । यस विषयमा विभिन्न कथन र पौराणिक तथा धार्मिक किंवदन्ती पनि छन् ।

भाइटीका लगाउनु भनेको विशुद्ध दिदीवहिनी र दाजुभाइबीचको सम्बन्ध थप सुमधर गर्नु हो । नाता सम्बनधलाई सन्तुलित गर्नु हो । समाजमा आदर सत्कार र एकअर्काबीचको विश्वास बढेमा नैतिकताको विकास हुने र त्यसले समाज पनि नैतिक बन्धनमा बाँधिने विश्वास छ । त्यसैले दिदीवहिनीहरुले दाजुभाइलाई टीका लगाउने गर्छन् ।

यस वर्ष भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउने व्यक्ति उत्तर फर्किने र लगाइदिने व्यक्ति दक्षिण फर्केर लगाउँदा शुभ हुने समितिले भनेको छ । टीका लगाएपछि दिदबहिनीले दाजुभाइलाई मखमली, सयपत्रीको माला लगाउने र ओखर फुटाउने गर्छन् । ओखर फुटाउँदा शत्रुहरु पनि टुक्रा टुक्रा भएर नासहुने विश्वास गरिन्छ ।

टीका लगाए बापत दाजुभाइले गच्छअनुसार दिदीवहिनीलाई उपहारकोरुपमा नगद रुपियाँ र लत्ता कपडा दिने प्रचलन पनि छ । यसदिन दिदीवहिनीले दाजुभाइलाई आफैले बनाएको मीठा परिकार खुवाउने गर्छन् । टीकामा रातो, सेतो, पहिलो, हरियो र नीलो रङ्गको प्रयोग    गरिन्छ ।

तपाईको प्रतिक्रिया