खैरहनीमा थारु खिचरा महोत्सव हुने


Khichra

कारी महतो
चित्तवन पुस ६ गते । विगत झैं यस वर्ष पनि पूर्वी चितवनको खैरहनी –७, सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ सम्म तेस्रो खिचरा महोत्सव २०७२ हुने भएको छ ।
थारु कल्याणकारिणी सभा चितवन प्रगन्ना नं. ७ मा भएको एक भेलाबाट नारायणप्रसाद महतोको संयोजकत्वमा २५१ सदस्यीय तेस्रो खिचरा महोत्सव २०७२ को मूल आयोजक समिति गठन भएको छ । भेलाबाट टिकेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक समिति, संजय कुमार चौधरीको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति, प्रणाम चौधरीको संयोजकत्वमा झाँकी तथा शोभायात्रा व्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै, रामचन्द्र चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, दिलीप महतोको संयोजकत्वमा महोत्सव परिसर व्यवस्थापन समिति, जीतबहादुर चौधरीको संयोजकत्वमा स्वयम्सेवक तथा सुरक्षा परिचालन समिति, जयश चौधरीको संयोजकत्वमा साँस्कृतिक समिति लगायत १८ वटा विषयगत उपसमिति गठन भएको आयोजकले बताएको छ ।
महोत्सव परिसरमै माघ २ गते रक्तदान कार्यक्रमको आयोजना गरिने र त्यसका लागि अनिश चौधरीको संयोजकत्वमा रक्तदान कार्यक्रम समिति गठन गरिएको छ । साथै सरसफाईका लागि स्थानीय चौधरी महिला समाज र पार्किङ्ग व्यवस्थापनका लागि सुल्तानाकै डायमण्ड क्लबले गर्ने भएको छ ।
विगत दुई वर्षमा निःशुल्क प्रवेश टिकट रहेकोमा यस वर्ष न्युनतम मूल्यमा टिकट राखिने जानकारी थाकसका क्षेत्रीय सभापति नारायणप्रसाद महतोले जानकारी दिनुभयो । खिचरा महोत्सवको मुख्य आकर्षणमा थारु परिकार र सांस्कृतिक कार्यक्रम रहने आयोजकको भनाई छ ।
जाडो मौसममा शरीरलाई निकै न्यानो बनाउने थारु खाना चिचर र चिचरको प्वाका लगायत घोङ्घी, माछा, हाँसको मासु, निचा (झिंगे माछा), ग्वागा, निजई, नकगर रोटी आदि परिकारको स्वाद महोत्सवमा दर्शकहरुले लिनसक्ने आयोजकले बताएको छ ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि गत वर्ष झैं यसवर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन र नृत्यका साथै थारु समुदायको संस्कृति र कला संरक्षण सम्बन्धी नाचगानको व्यवस्था गरिने बताइएको छ । महोत्सव परिसरमा थारु समुदायको साँस्कृतिक घर, माच, पीङ, मो¥हा बनाइनुका साथै निशुल्क वाइफाईको पनि व्यवस्था गरिने आयोकले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया