काठमाडौं, कात्तिक १८ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाले सिफारिस गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी रहेका छन् । यसअघि आइतबार सरकारको सिफारिसमा राष्टपतिले सातजना प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको थियो ।
मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको छ । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको बताइएको छ ।
सरकारद्वारा सिफारिस भएकाहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।