भड्काउको पछि नलागौंः नेता नेपाल


Nepal

काठमाडौं, पुस ६ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आइतबार रौतहटको गौरमा भएको सुरक्षाकर्मी र मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा परी कक्षा १० मा अध्ययनरत विद्यार्थी शेख तबरेजको दुखद् निधनप्रति आफू स्तब्ध भएको बताउनुभएको छ ।
सोमबार विज्ञप्ती प्रकाशित गर्दै नेता नेपालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । लोकतन्त्रमा अधिकारका निम्ति आन्दोलन गर्ने छुट सबैलाई भएपनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
आन्दोलनका नाममा विद्यार्थी, बालकहरुलाई लगाउनु गलत भएको बताउनुहुँदै नेता नेपालले आन्दोलनमा संयम्ता अपनाउन तथा मानवाधिकारको संरक्षण गर्न आन्दोलनकारी र सुरक्षा निकायसँग अपिल गर्नुभएको छ ।
मधेसको अधिकारप्रति आफू र आफ्नो पार्टी स्थापनाकालदेखि अगुवाई गरिरहेको बताउनुहुँदै रौतहट क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित नेता नेपालले विज्ञप्तीमा भन्नुभएको छ, “कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकतासहित आर्थिक समृद्धिको बाटोमा हातेमालो गरी अगाडि बढ्न सबैमा अपिल गर्दछु ।”

तपाईको प्रतिक्रिया