हमार पहुरा डट कम
काठमाडौं, पुस ५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला सिन्धुलीको खनियाखर्कमा पुस ६ र ७ गते हुन गइरहेको छ । प्रादेशीक महाधिवेशन सम्पन्न भएपछि प्रथम पटक हुन गइरहेको भेला आदिबासी पत्रकार तथा समग्र आदिबासीको हक अधिकार तथा कर्तव्यको सवालमा केन्द्रीत हुने बताइएको छ ।
भेलामा संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न समितिका संयोजक तथा प्रतिनिधिहरु, जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु गरी करिब डेढसय पत्रकारको सहभागिता रहने फोनिज केन्द्रले जनाएको छ ।
भेलाको उदघाटन प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले गर्ने कार्यक्रम रहेको बताइएको छ । भेलामा आदिबासी जनजातिको सवाल र सञ्चार माध्यमको भूमिका विषयमा राष्ट्रिय संवाद कार्यक्रम गर्ने तयारी गरिएको छ । संवाद कार्यक्रममा, न्युनतम पारिश्रमिक समिति, नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियनसहितका सञ्चार सम्बद्ध नेतृत्वको समेत सहभागिता रहने छ ।
भेलामा फोनिजका ५४ जिल्ला तथा सात प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने पत्रकारले जिल्लागत तथा प्रदेशगत विषयको रिपोर्टिङ गर्नेछन् । आदिबासी जनजाति पत्रकारको अवस्था, भोग्नुपरेका समस्या र चुनौति तथा संगठनात्मक गतिविधिका विषयमा खुलेर छलफल हुने बताइएको छ ।
वि.सं. २०५६ सालमा स्थापित तत्कालिन अनिज र २०७० सालमा भएको फोनिजको देशभर ५४ जिल्ला शाखा र ६ वटा विदेश शाखा छन् । फोनिजमा करिब तीन हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।