नेपालको विद्यमान संकटप्रति भारत चिन्तित छः राजदूत राय

बुधबारबाट संसद चल्ने, मोर्चाको आन्दोलन जारी रहने


Ray

काठमाडौं, पुस ७ गते । मुलुकको विद्यमान इन्धन आपूर्तिमा देखिएको संकट चाँडै अन्त्य हुने विश्वास नेपालका लागि भारतीय राजदूत रन्जित रायले दिलाउनुभएको छ । सभामुख ओनसरी घर्तीसँगको मंगलबार भएको शिष्टाचार भेटमा रायले त्यस्तो विश्वास दिलाउनुभयो ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा दिउँसो भएको भेटघाटमा मुलुकको समस्याप्रति भारत दुःखी भएको बताउनुहुँदै राजदूत रायले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँगको वार्ताबाट समस्या चाँडै अन्त्य हुनेमा आफूलाई विश्वास भएको बताउनुभयो ।
भारत र नेपालबीच ऐतिहासिक सम्बन्ध र आपसी सहयोग आदान प्रदान भइरहेकाले त्यसलाई कायमै राख्दै थप सहयोगका लागि दुवै देश लाग्नुपर्ने बताउनुभयो । नेपालको संविधान निर्माण प्रक्रियामा भारतको पूर्ण समर्थन र सहयोग रहेको बताउनुहुँदै राजदूत रायले संविधान संशोधनको प्रक्रिया र समयको बारेमा समेत सभामुखसँग जिज्ञासा राख्नुभएको थियो ।
सो अवसरमा राजदूत रायले भूकम्पले नेपाललाई ठूलो नोक्सानी गरेकोप्रति सहानुभूति व्यक्ति गर्दै पुनस्र्थापनाका लागि भारतको तर्फबाट सहयोग जारी राख्ने विश्वास दिलाउनुभएको सभामुखका निजीसचिव सुरजकुमार दुराले जानकारी गराउनुभयो । सो अवसरमा रायले सभामुख घर्तीलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो ।
भेटका क्रममा राजदूत रायले नेपाल र भारत दुवै संसदको सभामुख महिला भएकाले दोहोरो भ्रमण र अनुभव साटासाट गर्न सभामुख घर्तीलाई आग्रह गर्नुभएको थियो । मुलुकको विद्यमान समस्या समाधानका विषय र संशोधन विधेयकको विषयमा राजदूत रायले चासो राख्नुभएको सभामुख घर्तीले जानकारी दिनुभयो ।
“राजदूत रायले संविधान संशोधन विधेयकको प्रक्रियाको विषयमा जिज्ञासा राख्नुभयो मैले त्यसबारी आवश्यक जानकारी गराएँ” भन्नुहुँदै सभामुख घर्तीले दुई देशबीचको आपसी हितको विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
त्यस्तै, सभामुख घर्तीसँग मंगलबार नै नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा दुई देशबीचको आपसी हितको विषयमा छलफल भएको सभामुख घर्तीले जानकारी गराउनुभयो । “राजदूतले मुलुकको विद्यमान समस्या र समाधानका विषयमा पनि चासो व्यक्त गर्नुभयो, मैले वार्ताबाट नै समस्या समाधान हुन्छ भनेर भनें” घर्तीले भन्नुभयो ।
सोहीअनुसार सभामुख घर्तीसँग नेपालका लागि इजरायलका राजदूत यारोन मायरले मंगलबार नै शिष्टाचार भेट गर्नुभयो । भेटकाक्रममा राजदूत मायरले सभामुख घर्तीलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको आपसी सम्बन्धका विषययमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा राजदूत मायरले नेपालमा गएको भूकम्प र त्यसबाट नेपाली जनतामा परेको पीडाप्रति सहानुभूति व्यक्तगर्दै पुनरनिर्माणको काममा इजरायलको तर्फबाट सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभएको सभामुख घर्तीले बताउनुभयो । सो अवसरमा राजदूत मायरले नेपाली युवालाई कृषि तालिमका लागि इजरायलले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
सदनको प्रक्रिया शुरुहुने
सभामुख ओनसरी घर्तीले बुधबार बस्ने व्यवस्थापिका संसदको बैठकबाट पुनरनिर्माण प्राधिकरण विधेयकमाथिको छलफल शुरुहुने बताउनुभएको छ ।
यसअघिसम्म मधेसी मोर्चा सम्बद्ध सांसद र नेपाली कांग्रेसले पालैपालो अवरुद्ध गर्दैआएको संसद बैठकको कामकाज बुधबारदेखि नियमित अगाडि बढ्ने विश्वास सभामुख घर्तीले दिलाउनुभयो । आफ्नै कार्यकक्षमा पत्रकारसँग मंगलबार छलफल गर्नुहुँदै उहाँले संसद बैठक अवरुद्धको प्रयास भएपनि विधेयक माथिको छलफल शुरुहुने बताउनुभयो ।
“सम्भवतः कुनै पक्षले बैठक अवरुद्ध नगरोस् भन्नेमा हामी प्रयास गरिरहेका छौं, आशा गरौं सम्भवतः अवरुद्ध हुँदैन, भएपनि छलफलको काम शुरु हुन्छ” उहाँले भन्नुभयो । यसअघि संविधान संशोधन विधेयकको कार्यसूची हटाएको भन्दै कांग्रेस संसदले बैठक अवरुद्ध गरेका थिए भने मधेसी मोर्चा सम्बद्ध दलका सांसदहरुले मधेसको माग सम्बोधन हुनुपर्ने भन्दै अवरुद्ध गर्दैआएका थिए ।
यसअघिको संसद बैठकले पाँच दिनको समय वार्ता र संवादका लागि दिएको भएपनि मोर्चा र सरकारबीच सो विषयमा औपचारिक वार्ता हुन सकेको छैन । कांग्रेस र मोर्चा सम्बद्ध नेताहरुबीच भने औपचारिक र अनौपचारिक वार्ता र छलफल भइरहेको छ । संसद बैठक बुधबार ११ बजेकालागि बोलाइएको छ ।
मोर्चाको विरोध कायमैः
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको मागलाई सरकारबाट आशालाग्दो सम्बोधनको संकेत नआएकाले आन्दोलन र अवरोधहरु जारी रहने बताएको छ ।
मंगलबार बसेको मोर्चाको बैठकले सरकारद्वारा प्रस्तुत तीनबुँदे प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ । सरकारले राज्यको सबै तहमा समानुपातिक समावेशीता कायम गर्दै राजनीतिक सहमति गठन गरेर तीन महिनाभित्र सिमांकनको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको थियो । तर सरकारको सो प्रस्ताव अस्पष्ट, अमूर्त र अपूर्ण रहेको भन्दै मोर्चा सम्बद्ध दलका नेताले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेका छन् ।
सरकारले माग पूरा नगर्दासम्म मधेसमा जारी आन्दोलन कायम राख्ने र नाकाबन्दी समेत यथावत रहने मोर्चाको निर्णय छ ।

Morcha press release 7 paush

तपाईको प्रतिक्रिया