सुनिल चौधरी
झुम्का, पुस १८ गते । थारु महिला उत्थान समाज सुनसरीको अध्यक्षमा पुनः सीता चौधरी थरुनी चयन हुनुभएको छ । शुक्रबार यहाँ आयोजित समाजको तेस्रो साधारणसभाले उहाँलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।
रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा महिला शसक्तिकरणको पहिलो उद्देश्य राखी थारु भाषा, संस्कृति, कला संरक्षणमा समेत जोड दिने वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।
महिलामा नेतृत्व बिकास तालिम, आर्थिक आयआर्जनका लागि सीप बिकास तालिम, महिला हिंसा, लैंङ्गिक बिभेद, बालबालिकाहरुको अधिकार संरक्षण गर्ने लगायतको कार्यक्रम समाजले गर्दैआएको अध्यक्ष थरुनीले जानकारी दिनुभयो । संस्थाले थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखेर हरेक वर्ष माघे संक्रान्ति, जितिया, समाचखेवा महोत्सव गर्दैआएको छ ।
संस्थाले अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा बितरण, नारी दिवसमा सचेतना कार्यक्रम, साईबरक्राईम बारे सचेतना, टिकापुरका पीडित बालबालिकालाई आर्थिक सहयोग, बाढी पीडित तथा आगलागी पीडितलाई पनि सहयोग गरेको थियो ।
संस्थाको आयब्यय बारे संस्थाकी कोषाध्यक्ष आशा चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ । सो अवसरमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा रामधुनी वडा नं. १ का अध्यक्ष महेस चौधरी, रामधुनीका योजना प्रमुख हर्षलाल चौधरी, सल्लाहकार केशीलाल चौधरी, रामकुमारी चौधरी, साँस्कृतिक संयोजक श्रवण चौधरी, उधोग बाणिज्य संघ महासचिव नबिन चौधरी, संचार संयोजक सुनिल चौधरीलाई सम्मानित गरिएको थियो ।
२०७३ सालमा स्थापना भएको उत्थान समाजमा संस्थापक अध्यक्ष रहनुभएको थरुनीले आगामी दिनमा संस्थालाई थप सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो । समाजको उपाध्यक्षमा आशा चौधरी, सचिवमा सनम चौधरी, सहसचिवमा भगवती चौधरी र कोषाध्यक्षमा गयाबति चौधरी चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक केशीलाल चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा मन्जु चौधरी, दिलकुमारी चौधरी, मिरा चौधरी, हिरा चौधरी, यसोदा चौधरी, बन्सा चौधरी, पिन्की चौधरी र आशा चौधरी चयन हुनुभएको छ । कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।