बुटवल, पुस २१ गते । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराउनुभयो ।
गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो आयोजना गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो ।
थारु समुदायको माघी पर्व विशेष पर्व हो । सो समुदाय नयाँ वर्षकोरुपमा माघी मनाउँछन् । यद्यपि माघ १ गते सबै समुदायले माघे संक्रान्तिकोरुपमा मनाउने गर्छन् ।
बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।