हमार पहुरा डट कम
काठमाडौं, पुस २७ गते । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने देशभरका थारुले यस वर्ष काठमाडौंको टुँडीखेलमा माघी महोत्सव २०७६ मनाउने भएका छन् । महोत्सवको तयारी युद्धस्तरमा भइरहेको आयोजकले बताएको छ ।
यस वर्ष थारुले २६४३ औं माघ मनाउँदैछन् । पश्चिममा बसोबास गर्ने थारुले यो पर्वलाई माघको रुपमा मनाउँछन् भने तराईको बीच जिल्लामा बसोबास गर्ने थारुले खिचराको रुपमा मनाउँछन् । त्यस्तै पूर्वी जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई तिला संक्राइतकोरुपमा पनि मनाउँछन् । जो जसरी मनाए पनि माघ थारुको साझा पर्वकोरुपमा स्थापित छ ।
थारु कल्याणकारिणीसभा (थाकस) र थारु विद्यार्थी समाजको पहलमा २०५९ सालदेखि काठमाडौं उपत्यकामा माघी महोत्सव मनाउन शुरु गरिएको थियो । एउटा कोठाबाट मनाउन शुरु गरिएको माघी महोत्सव अहिले टुँडीखेलको विशाल मैदानकोरुप लिएको छ । उपत्यकामा करिब दुई लाखको हाराहारीमा थारु समुदायको बसोबास रहेको मानिन्छ । ठूलो संख्यामा थारु समुदाय उपत्यकामा बसोबास गर्न थालेपछि र माघी महोत्सवकालागि ठूलो क्षेत्रको आवश्यकता पर्ने भएपछि महोत्सवले ठूलो आकार लिएको छ । यसले थारु समुदायलाई एकताको सूत्रमा बाँध्ने काम पनि गरेको छ ।
उसो त माघ पर्व नै मेलमिलापको पर्व हो । एक अर्कालाई जोड्ने पर्वकोरुपमा स्थापित छ । वर्षभरीको रिइसवीलाई अन्त्य गरी नयाँ सम्बन्ध विस्तार गर्ने पर्वकोरुपमा चिनिन्छ । यसअघि माघी महोत्सव मनाउने क्रममा केही तिक्तता पनि थारु समुदायमा देखिएको थियो । उपत्यकामा दुई ठाउँमा माघी महोत्सवको आयोजना पनि भयो । तथापि अहिले थारु समुदायबीचको एकता मजबुत हुँदैगएको छ । थारुको साझा मुद्दा र अधिकारमा थारु समुदाय सचेत हुँदैगएको एउटा प्रमाण पनि हो यो माघी महोत्सव । जुन यो वर्ष उपत्यकामा बसोबास गर्ने थारु समुदायले एकै मञ्चमा महोत्सव मनाउने तयारी गरेका छन् । यसले थारु समुदायलाई एकअर्कासँग जोड्ने र मजबुत गर्ने सन्देश प्रवाह गर्नेछ ।
उसो त माघी महोत्सव स्थलका लागि हरेक वर्ष थारु र मगर समुदायबीच छिनाझपटी हुँदैआएको छ । गत वर्ष टुँडीखेलमा मगर समुदायले महोत्सव मनाउँदा थारुको माघी चावहिलको होटल हयाटको मैदानमा पुगेको थियो । तर धेरै संघर्ष र परामर्शपछि यो वर्ष थारु र मगरको महोत्सव टुँडीखेलमा हुने निश्चित भएको थारु माघी महोत्सव मुल आयोजक समितिका सहसंयोजक चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
महोत्सव पुस २९ र माघ १ गतेगरी दुई दिन आयोजना गरिने चौधरीले बताउनुभयो । शुरुदिन २९ गते रक्तदान कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने तयारी आयोजकले गरेको छ । सामुहिकरुपमा जिता मार्ने कार्यक्रम पनि त्यहीदिन रहेको छ । यसले पनि महोत्सवलाई प्रभावकारी बनाउनमा सहयोग गर्नेछ ।
माघ १ गते दुई चरणको कार्यक्रम हुने आयोजकले बताएको छ । पहिलो चरणमा उदघाटनसत्र जहाँ थारुको माग मुद्दा र सांस्कृतिक महत्वबारे विचार मन्थन गरिनेछ । प्रमुख अतिथिको अझै टुङ्गो लागिनसके पनि प्रयास भइरहेको बताइएको छ । दोस्रो चरणमा थारु सांस्कृतिक कार्यक्रम हुनेछ । जसमा थारु नृत्य र झाँकीहरुको प्रस्तुती रहने छ । त्यसले दर्शकलाई मनोरन्जन प्रदान गर्नेछ । महोत्सवमा करिब एकसय १० स्टल रहने र त्यसमा थारु खानाका विविध परिकार, हस्तकला तथा प्रचारप्रसारका सामग्री प्रदर्शन गरिनेछन् ।
थाकस, थारु विद्यार्थी समाज, वर्दियाली थारु विद्यार्थी मञ्चसहितका करिब दुई दर्जन थारु संघ संस्थाको संयुक्त आयोजनामा महोत्सव हुँदैआएको छ । उपत्यकासहित देशको विविध थारु बहुल जिल्लामा महोत्सवको आयोजना शुरु भएपछि थारु माघ पर्वबारे अहिले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार प्रसार हुनेगरेको छ । यसले एकातिर थारुको संस्कृतिको प्रचार भएको छ भने अर्कोतिर संस्कृतिको संरक्षणमा युवालाई सचेत गर्दैआएको छ । महोत्सवको माध्यमबाट थारुको राजनीतिक अधिकारको माग पनि बुलन्द हुनेगरेको छ ।