हमार पहुरा डट कम
काठमाडौं, पुस २९ गते । हरेक वर्षजस्तै थारु समुदायले यस वर्ष पनि काठमाडौंको टुँडीखेलमा माघी महोत्सव २०७६ आयोजना गर्ने भएको छ । पुस २९ र माघ १ गते गरी दुईदिन महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ । महोत्सव आजबाट शुरुभएको छ ।
महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्नुहुने थारु माघी महोत्सव मूल आयोजक समितिका उपसंयोजक चन्द्रप्रसाद थारुले बताउनुभयो । उहाँकाअनुसार महोत्सवमा ११० स्टल रहनेछन् । स्टलमा थारु खानाका परिकार, हस्तकलासहित थारु पहिचान झल्किने अन्य सामग्री राखिने आयोजकले बताएको छ ।
महोत्सवको अवसरमा सोमबार काठमाडौंको तीनकुनेदेखि प्रदर्शनी मार्गसम्म मोटरसाईकल ¥यालीको आयोजना गरिएको समितिका सदस्य तथा वर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुले जानकारी दिनुभयो । उहाँकाअनुसार पुसको अन्तिम दिन मंगलबार टुँडीखेलमै जिता मार्ने कार्यक्रम तय भएको छ । मासुको लागि सँगुर काट्नुलाई थारुहरुले जिता मार्ने भन्छन् ।
त्यस्तै, मंगलबार नै मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने र रक्तदानको कार्यक्रम पनि तय भएको थारुले बताउनुभयो । महोत्सवको उदघाटन माघ १ गते दिउँसो १२ बजे अध्यक्ष प्रचण्डले गर्नुहुने मूल आयोजक समितिका सदस्यसचिव कानूनलाल थारुले बताउनुभयो । उदघाटनमा दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता २० जना थारु खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
माघ १ गते उदघाटन अघि भृकुटीमण्डपदेखि टुँडीखेलसम्म थारु पहिरन नृत्यसहित झाँकी प्रदर्शन गरिने सदस्य सचिव थारुले जानकारी दिनुभयो । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । आयोजकका अनुसार माघी महोत्सवको करिब ७० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । उपत्यकामा करिब दुई लाख थारुको बसोबास रहेको थारु संघ संस्थाहरुको दावी छ ।
महोत्सवमा करिब ४५ लाख रुपियाँ खर्च हुने आयोजकले बताएको छ । महोत्सवलाई मनोरञ्जनपूर्ण बनाउन विभिन्न थारु झाँकी तथा नृत्यहरु प्रदर्शन गरिने र राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने सहसंयोजक थारुले बताउनुभयो । यस वर्ष टुँडीखेलमा थारु र मगर समुदायको एकै थलोमा माघी महोत्सव तय गरिएको छ । थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी (माघ) महोत्सव हुँदैआएको छ ।