लक्की चौधरी
काठमाडौं, माघ १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाको आरोपमा जेल जिवन बिताइरहनुभएका थारु राजबन्दीहरु छिट्टै मुक्त हुने विश्वास दिलाउनुभएकोछ ।
टुँडीखेलमा आयोजित थारु राष्ट्रिय माघी (माघ) महोत्सव २०७६ को बुधबार यहाँ उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो विश्वास दिलाउनुभयो । राष्ट्र निर्माण तथा लोकतन्त्र निर्माणमा तराईका आदिबासी थारु समुदायको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले सोझा इमान्दार थारुलाई विभिन्न आरोपमा कारागारको कोच्नु न्यायसँगत् नभएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाका सांसद रेशमलाल चौधरीसहित कारागारमा रहेका बाँकी थारु राजबन्दी छिट्टै छुट्ने उहाँले बताउनुभयो ।
“टीकापुर घटनाको आरोपमा कारागारमा रहनुभएका थारुको रिहाईकालागि राजनीतिकरुपमा पहल भइसकेको छ, अवको केही दिनमै उहाँहरु सबै मुक्त हुनुहुन्छ, म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छुँ” अध्यक्ष प्रचण्डले भन्नुभयो । यसअघि लक्ष्मण थारुसहित ११ जना थारुहरु तीन वर्ष कैद जीवन विताएर मुक्त भइसक्नुभएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटना हुँदा ३३ जना थारुलाई स्थानीय प्रशासनले पक्राउ गरी थुनामा राखेको थियो । टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित सातजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । थारु समुदायले संविधानमा आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै टीकापुरमा आन्दोलन गर्दा सो घटना घटेको थियो ।
थारु समुदायको धेरै अधिकार नयाँ संविधानले सम्बोधन गरिसकेको र बाँकी अधिकारका लागि निरन्तर पहल गर्न उहाँले आग्रह गर्नुभयो । ‘संविधान संशोधनीय दस्तावेज हो, छुटेका अधिकार सम्बोधन गराउन तपाईहरुको खवरदारी होस् म आफ्नो ठाउँबाट सकेको सहयोग गर्न तयार छुँ’ उहाँले भन्नुभयो । आन्दोलन गर्दा शान्तिपूर्ण गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “आन्दोलन अराजक हुँदा भुइँको टिप्न खोज्दा कहीँ खल्तीको नगुमोस् भन्नेमा थारु समुदाय सचेत हुनुपर्छ ।”
तत्कालिन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्ध गर्दा समेत थारु समुदायको ठूलो सहयोग र योगदान रहेको स्मरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूलाई १७ हजारको ज्यान लिएको आरोप नलगाउन आग्रह गर्नुभयो । “जनयुद्धमा माओवादीले १७ हजार मान्छे मारेको सत्य होइन, १२ हजार त राज्यको तर्फबाट मारिएका हुन्, त्यो आरोप पनि मेरो टाउकोमा राख्ने हो भने अन्याय हुन्छ” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
कार्यक्रममा थारु नेता लक्ष्मण थारुले सोझा र इमान्दार समुदाय पाएर राज्यले हेपेको आरोप लगाउनुभयो । जनताबाट अत्यधिक मत ल्याएर कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ खुवाएर कारागारमा राख्नु राज्यको थारुमाथिको बेइमानी भएको उहाँले बताउनुभयो । टीकापुर घटनाको आरोपमा कैदी जीवन विताइरहेका थारुलाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो ।
पूर्व सांसद रुक्मिणी चौधरीले थारुको अधिकार संविधानमा सुनिश्चित गर्न संविधान संशोधनको माग गर्नुभयो । आदिबासी थारुको चाडपर्वमा सार्वजनिक विदा नदिएर राज्यले पहिचानमा राजनीति गरेको भन्दै उहाँले माघी सहित अन्य जातीय समुदायको पर्वमा विदाको व्यवस्था गर्न माग गर्नुभयो ।
कार्यक्रममा सांसद सन्तकुमार थारु, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, थारु नेता मिनराज थारु, प्रेमीलाल चौधरी, आदिबासी जनजाति महासंघका महासचिव गोविन्द छन्त्याल, थारु नेताहरु चन्द्रप्रसाद थारु, गीता थारु, सत्यनारायण चौधरी, नन्दुराज चौधरी, किशोर चौधरी लगायतले बोल्नुभएको थियो ।
थारु कल्याणकारिणीसभा (थाकस) का उपाध्यक्ष कन्नुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित पदक विजेता २० जना थारु खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सन्चु चौधरी, सरस्वती चौधरी, मंगल चौधरी, संगिता चौधरी, देवीका चौधरी, वसन्त थारु, एलिना चौधरी लगायत हुनुहुन्छ । महोत्सवमा थारु नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा १२० विभिन्न थारु परिकार तथा हस्तकलाका स्टलहरु रहेका छन् । पुस २९ र माघ १ गते गरी दुई दिन महोत्सव सञ्चालन भएको छ । महोत्सवमा दुई दर्जनबढी थारु सांस्कृतिक नृत्यहरुको प्रस्तुती गरिएको थियो ।