कपिलवस्तुको शिवराज नगरमा थारु माघी (खिचडी) महोत्सवको आयोजना


रामअवतार चौधरी
कपिलवस्तु, माघ ६ गते । थारु समुदायको पुरानो इतिहास बुद्धकालिनसँग सम्बन्धित छ, जुन समयमा सबैभन्दा शिक्षित थारु समुदाय रहेको संविधानसभाका पूर्व सदस्य एवं नेकपाका नेता विश्रामप्रसाद थारुले बताउनुभयो । थारु कल्याणकारी सभा शिवराज नगर कार्य समितिको आयोजनामा भएको प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको उदघाटन गर्दै थारुले यस्तो बताउनुभयो ।

बुद्ध थारुका सन्तान हुन् भनेर जानिन्छ । पहिले थारुहरूको आफ्नै राज्य थियो । तर अहिले थारु समुदायको आफ्नो कला, संस्कृति, भेषभुषा, रीतिरिवाज सबै लोप हुँदैगएको छ । यसप्रति चिन्ता व्यक्त गर्दै युवा पुस्ताले संरक्षण, सम्ब्र्धन र प्रबर्द्धन गर्न जरूरी रहेको अनुभूति गरिरहनुभएको छ ।

नेता थारुले थारुहरूको आफ्नै भाषा समेत लोप हुँदैगएको बताउँदै यस्तो कार्यक्रमले थारु समुदायको संस्कृति जर्गेना हुने बताउनुभयो । “संस्कृति मात्रै बचाएर हुँदैन, शैक्षिक, राजैनितिक र सामाजिक स्तरमा समेत थारु समुदायको विकास हुनुपर्छ” उहाँले भन्नुभयो । एसियामै कला, संस्कृतिले भरिपुर्ण समुदाय मध्य थारु समुदाय अग्रस्थानमा रहेको थारुको भनाई छ ।

महोत्सव माघ २ गते हुने सम्पूर्ण तयारी पुरा भए पनि मौसम प्रतिकूल भएका कारणले ५ गतेका लागि महोत्सव सारिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले जानकारी दिए ।

“थारु संस्कृतिको संरक्षण, सम्बर्धन, प्रबर््धनको हाम्रो अभियान, न्याय, समानता र पहिचान सहितको स्वायत्त थरुहट प्रदेश निर्माण“ मुल नाराकासाथ महोत्सव सोमबारबाट सुरु भएको हो । थारु पहिचान झल्किने भेषभुषामा सजिएका पोशाक सहित थारु समुदायका अगुवा, समाजसेवी लगायत आम समुदायको झाँकीसहित ¥याली प्रस्तुत गरिएको थियो ।

त्यसैगरी शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले थारु समुदायको बरघर चुन्नेदेखि घरको भागबन्डा समेत माघी पर्व अर्थात् लावा बर्षको रुपमा मनाउने गरिएको बताउनुभयो । “हामी थारु कुनै कार्यक्रममा सहभागी हुँदैछौँ भने अरुको पोशाक गरगहना मागेर होइन, थारुकै पोशाक र गहना लगाउनुपर्छ” उहाँले भन्नुभयो । थारु संस्कृतिको संरक्षण गर्न थारु संग्रहालय आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुप्रिय इलेक्ट्रिक्सका प्रोपराईटर हिरालाल थारुले थारु समुदाय हरेक क्षेत्रमा अगाडि भएपनि शिक्षामामा कमजोर रहेको बताउनुभयो । थारु पहिचानमा संकट आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले थारु भाषामा कार्यक्रमलाई सम्बोधन गर्दै थारु पहिचान बचाउनका लागि यस्ता माघी महोत्सवले भूमिका खेल्ने बताउनुभयो । यस्तै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले थारुहरू तराईको मुलबासी रहेको बताउँदै थारुहरु माटोसँग खेलेर अरूलाई पाल्ने समुदाय भएको बताउनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं.२ का वडाध्यक्ष रामबहादुर थारुले थारुहरू शिक्षा र चेतनास्तर बढाउनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
थारु समुदायको माघी पर्वको रौनक झनै उत्साहजनक रहेका बिशेष माघी पर्व हो । यस समुदायको अस्तित्व सहितको पहिचान जोगाउनु आवश्यक रहेको र कला, संस्कृति, रीतिरिवाजलाई जोगाउनुपर्ने कार्यक्रममा बोल्ने अधिंकाश वक्ताले जोड दिएका थिए ।

महोत्सवको उदघाटनसत्रमा गणेश चौधरी, विष्णु थारु, विशाल चौधरी, शारदा थारु लगायत राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा इन्द्रबहादुर थारु, थाकस केन्द्रीय सदस्य जंजिरप्रसाद थारु, सुमित्रा थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, मानव अधिकार प्रतिष्ठानका कपिलवस्तु अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतले बोल्नुभएको थियो । महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया