कपिलवस्तुको लोहरौलामा थारु परम्परागत त्रिवेणी मेला शनिबारसम्म


रामअवतार चौधरी
कपिलवस्तु, माघ ११ गते । कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला शुक्रबारबाट सुरु भएको छ । “हम्मन भाषा ओ संस्कृति हमनके शान, थारु संस्कृति बचएना हमनके अभियान” मुल नाराकासाथ सुरु भएको मेलामा थारु समुदायको मौलिक पहिरनमा झाँकी ्यालीसहित सुरु भएको हो ।

मेलाको उद्घाटन समोरोहलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले थारु समुदायको हकहित र अधिकारसँगै आफ्नो मौलिक पहिचान जोगाउन आवश्यक रहेको बताउनुभयो । यस्तो मेला महोत्सव आयोजनाले स्थानीय प्रतिभा उत्पादन हुनुका साथै आफ्ना गाउँघरमा लुकेर रहेको कला, संस्कृतिको संरक्षणमा टेवा पुगेको थापाले बताउनुभयो ।

विजयनगर गाउँपालिकासँगै जोडिएको लोहरौला गाउँको समेत शिर उच्च राख्ने लोहरौला गाउँ समाजले गरेको कार्यक्रमको प्रसंशा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता थापाले जनाउनुभयो । कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरुले थारु संस्कृति जगेर्ना गर्नुपर्ने बताउनुभयो । लोप हुँदै गाएको थारु कला, संस्कृति, भेषभुषा, रीतिरिवाज र पहिरन बचाउन थारु युवा पुस्ता एकजुट भइ लाग्नुपर्नेमा वक्ताले जोड् दिएका थिए ।

मेलामा थारु पुर्खौली सामाग्री ढकिया, पँुजा, चुल्ही, डोक्नी, गोनरी, मचिया, खौलर, चौकी बेल्ना, पौवा लगायत थारुसँग सम्बन्धित पुराना थुप्रै सामाग्रीहरु अवलोकन गर्न सकिनेछ । साथै थारु खाना परिकारको समेत स्वाद लिन पाईन मेला व्यवस्थापन समितिको सचिव राम सहाइ थारुले बताउनुभयो ।

कार्यक्रम कृष्णबहादुर थारुको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी थारुको विशिष्ट आतिथ्यता, थारु कल्याणकारी सभाका जिल्ला सचिव जगतदेव थारु, थाकस शिवराज नगर अध्यक्ष इन्द्रबहादुर थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, सुमन थारु, सोमइलाल थारु लगायतको सहभागिता थियो । मेला शनिबार रातीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया