माघी पर्वलाई थारु समुदायले आन्दोलनकोरुपमा मनाउने

माग सुनुवाई नभए कडा आन्दोलनको चेतावनी


Mahila vela

काठमाडौं, पुस ९ गते । थारु समुदायको नयाँवर्ष माघी पर्वलाई आन्दोलनकोरुपमा मनाउने थारु समुदायले निर्णय गरेको छ । थारु समुदायले हरेक वर्ष माघी पर्वलाई विशेषरुपमा मनाउने गर्दछन् ।

थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठकले त्यस्तो निर्णय गर्दै थारुको अधिकारलाई सम्बोधन गराउन दवावमूलक कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । एकसय ३४ दिन आन्दोलन गर्दासमेत सरकारले सुनुवाई नगरेको आरोप संघर्ष समितिको छ ।

संघर्ष समितिले मेची महाकाली जनजागरण अभियान सम्पन्न गर्दै बाँकी थप कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा माघ महिनाभित्र कैलालीको टीकापुरमा समितिको वृहत् राष्ट्रिय सम्मेलन गर्ने, माघी पर्वलाई आन्दोलनकोरुपमा मनाउने, टीकापुर घटनामा पक्राउ परेका आरोपितलाई रिहा गर्न कडाईकासाथ दवावमूलक कार्यक्रम गर्ने पनि समितिले निर्णय गरेको छ ।

सरकारले शुरुगरेको जनताको संविधान, जनताको माझ कार्यक्रमलाई वहिष्कार गर्ने, अवको आन्दोलन राजमार्ग केन्द्रीत गर्ने, एकगाउँ एकसय युवा परिचालन गर्ने कार्यक्रम पनि संघर्ष समितिले सार्वजनिक गरेको छ । पुस १४ गते वर्दियाको गुलरियामा युवा स्वयम्सेवकको घोषणा तथा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका मिनराज थारुले जानकारी दिनुभयो ।

काठमाडौंमा रहेका थारु नेताले पुस १५ गतेदेखि उपत्यका छाडी तराईमा आन्दोलनको नेतृत्व गर्ने, कालोबजारी भइरहेको इन्धनमा गम्भीर हुँदै थारु युवाले अव त्यस्तो कार्यक्रमको निगरानी गर्ने र कारवाही गर्ने पनि समितिले बताएको छ ।

पुस मसान्तसम्म सरकारले थारुको माग सुनुवाई नगरे थारुले आफ्नो संविधान आफै घोषणा गर्ने, थरुहटमा गुड्ने सवारी साधनले थरुहट स्वायत्त प्रदेशको स्टिकर लगाएर मात्र चलाउन पाउने, थरुहटमा सरकारी मन्त्रीहरुलाई वहिष्कार गर्ने तथा कालोझण्डा देखाउने विरोधको कार्यक्रम संघर्ष समितिले सार्वजनिक गरेको छ ।

थारु समुदायको आत्मसम्मान, पहिचान, न्याय र अधिकारलाई शान्तिपूर्ण तवरबाट सम्बोधन गर्न माग थारु समुदायले गरेको छ । माग सुनुवाई नभए कडा आन्दोलनको चेतावनी पनि दिएको छ ।

Press Meet Kailali 2072-09-09

तपाईको प्रतिक्रिया