कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने


रामअवतार चौधरी
कपिलवस्तु,माघ २६ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हकहित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताइएको छ ।

प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्न वर्तमान युवापुस्ता जिम्मेवार हुनुपर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय सम्बन्धित संघ संस्थाले थारुको नाम जोड्ने तर उक्त समुदायलाई प्रयोग गर्ने काम भएको उल्लेख गर्दै कार्यक्रममा बोल्ने अधिकांश थारु अगुवाहरुले बताए ।

अहिलेसम्म भएका हरेक गतिविधिमा सरकार लगायत शासक राजनीतिज्ञहरूले सिङ्गो थारु समुदायलाई डिभाइड एण्ड रूलको काम गरेको आरोप पनि लगाए । अगामी दिनमा भने युवा सञ्जालले आफ्नो समुदायमा जनचेतनामूलक र सामाजिक कार्यमा सरिक रहेर गाउँदेखि शहरसम्म जागरण अभियान र सचेतना फैलाउने युवा सञ्जालले जनाएको छ ।

थारु समुदायमा यस्तो कार्यक्रम जरुरी थियो र छ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सञ्जालले गाउँघरमा रहेको गरिब, विपन्न परिवारलाई शैक्षिक लगायत सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने बताएको छ । गठन गरिएको युवा संजाल कुनै राजनीतिक नभएर थारु समुदाय केन्द्रित रहेको उक्त कार्यक्रममा प्रकाश चौधरीले बताउनुभयो । सञ्जालमा ३३ जनाको सहभागिता छ ।

तपाईको प्रतिक्रिया