थारुमा फुट भएकै कारण राज्यसहित सबैले थारुमाथि विभेद गरे


हमार पहुरा डट कम
काठमाडौं, फागुन ८ गते । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको र आजको अवस्थामा समेत त्यही अवस्था रहेको भन्दै थारु अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । थारु समुदायमा एकताको अभाव हुनु र आफ्नै सोझोपनले सबै पक्षबाट थारु हेपिएको बुझाई वक्ताहरुको छ ।

नेपाल थारु पत्रकार संघले विहिबार यहाँ गरेको थारु समुदायमाथि विभेद विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो धारणा व्यक्त गरेका हुन् । थारु समुदाय तराईको सबैभन्दा ठूलो जनसंख्या भएको समुदाय भएपनि तराईमै सबैभन्दा अपहेलित हुनु दुर्भाग्यपूर्ण भएको बुझाई उहाँहरुको छ ।

अहिले थारु समुदायको सबै तह र निकायमा फुटको विऊ देखिएकाले सोही फुटको फाइदा गैरथारु तथा राज्यले उठाएको धेरैको धारणा छ । राजनीतिक दल, सामाजिक संघ संस्था, विद्यार्थी, युवा, पत्रकार, गाउँघर सबै ठाउँमा थारुको फुट देखिएकाले ‘फुटाउ र राज गर’ को नीति अरुले अख्तियार गरेको धेरैले सुनाए ।

थारु माथिको विभेद अन्त्यका लागि पहिलो कुरा थारु एकता कायम हुनुपर्ने र दोस्रोमा थारु आफै सचेत र शिक्षित हुनुपर्ने सुझाव वक्ताहरुको थियो । त्यो कुरा जानकारी भएर पनि थारु एकापसमा टुटफुट हुँदैगएको धारणा वक्ताहरुले राखे । थारु समुदायबाट रानाथारु समुदायलाई अलग सूचीकरण गर्नु थारुलाई फुटाएर कमजोर पार्ने पछिल्लो उदाहरण भएको उहाँहरुको भनाई छ ।

संघका अध्यक्ष प्रदीप लेखीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरु तेजुलाल चौधरी, गौरीशंकर चौधरी, अगुवाहरु प्रेमीलाल चौधरी, श्रवण थारु, मिनराज चौधरी, विजयकान्त कर्ण, आरके खम्बु, भुलाई चौधरी, सुरेन्द्र चौधरी, सि.एन. चौधरी, कमलेश्वर यादव, गीता चौधरी, चन्द्रप्रसाद चौधरी, कानूनलाल चौधरी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया