हमार पहुरा डट कम
धनगढी, फागुन १४ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेशको सहयोगमा बुधबारदेखि धनगढीमा विश्व साहित्य महोत्सव शु्रुभएको छ । महोत्सवमा करिब तीनसय साहित्यकारहरुको सक्रिय सहभागिता छ । महोत्सवमा थारु साहित्य तथा संस्कृतिको विषयमा समेत छलफल हुनेछ ।
महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । महोत्सवमा थारु भाषा साहित्य, संस्कृति तथा इतिहासका बारेमा छलफल गर्न वरिष्ठ संस्कृति विद महेश चौधरी, गोपाल दहित, कृष्णराज सर्वहारी, लक्की चौधरी, जीवन राना लगायतलाई अतिथि वक्ताकोरुपमा राखिएको छ ।
त्यसैगरी राजनीतिक विषयमा बोल्न सांसदहरु शान्ता चौधरी, नारदमुनी राना लगायतलाई मञ्च प्रदान गरिएको छ । बुधबारको उदघाटन सत्रमा सांसद रानाले आफ्नो धारणा राख्नुभएको छ । त्यस्तै संघर्ष र सफलताको कथा शीर्षकमा सांसद तथा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले धारणा राख्नुभएको छ ।
विहिबारको कार्यक्रममा डा. कृष्णराज सर्वहारी, लक्की चौधरीले आफ्ना धारणा राख्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै १७ गते शनिबार आफ्नै इतिहास र आफ्नै परम्परा शीर्षकमा मुख्य तीनजना वक्ताहरुले आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ । जसमा पूर्वमन्त्री महेश चौधरी, लक्की चौधरी र जीवन रानाले प्यानल छलफलमा मुख्य वक्ताकोरुपमा धारणा राख्ने छन् ।
त्यसैगरी १९ गते हुने कार्यक्रममा डा. गोपाल दहितले आफ्नो धारणा राख्ने सुची तय गरिएको छ । उदघाटन सत्रमा थारु मुग्रहुवा नाच, रानाथारुको होरी नाच तथा सुदूरपश्चिमको हुडकेली, छलिया नाच प्रस्तुत गरिएको छ ।
देशका वरिष्ठ साहित्यकार तथा देश बाहिरबाट समेत वरिष्ठ साहित्यकारहरु कार्यक्रममा भाग लिन धनगढी आइपुग्नुभएको छ । कार्यक्रम २० गतेसम्म सञ्चालन रहने आयोजक संस्थाले जनाएको छ ।