विद्यमान संकट अन्त्य गर्न शीर्ष तहमा राजनीतिक छलफल तिब्र

मधेसी मोर्चासँग सहमति गरेरै अगाडि बढ्नुपर्ने नेताहरुको धारणा


Prachanda Nepal Sitaula

काठमाडौँ, पुस १० गते । तराई–मधेसको समस्या समाधान गर्ने र व्यवस्थापिका–संसद्को गत्यावरोध खोल्ने विषयमा शीर्ष तहका नेताहरुबीच छलफल तिब्र बनेको छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक परामर्श गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग उहाँले छुट्टाछुट्टै परामर्श गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको परामर्शमा व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई आन्दोलतर मधेसी मोर्चाको सहमतिमा नै अगाडि बढाउने विषयमा नेताहरुबीच कुराकानी भएको छ ।

लामो समयदेखि मुलुक सङ्कटमा फसेको, समस्या समाधानको विभिन्न प्रयत्न भएपनि सार्थक निष्कर्ष ननिस्केको भन्दै सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अधिकतम सहमतिमा अगाडि बढाउनुपर्नेमा नेताहरुको जोड छ ।

अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलका अनुसार नेताहरुबीचको परामर्शमा आइतबार बस्ने सदनको बैठकबाट संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र नेपाल–भारत सीमामा जारी रहेको अवरोध हटाउने विषयमा नै केन्द्रित थियो ।

मोर्चाका नेतासँग छुट्टै परामर्श

एमाओवादी अध्यक्ष दाहालले आजै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि छुट्टै छलफल गर्नुभएको छ ।

राजधानीको एक निजी निवासमा भएको छलफलमा अध्यक्ष दाहालले सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर मोर्चाका नेताहरुले भने सीमाङ्कनको विषय नै प्रमुख एजेन्डा भएकाले सो विषयमा प्रस्ट अवधारणा अगाडि सार्न आग्रह गर्नुभएको थियो ।

अध्यक्ष दाहालले भने सीमाङ्कनको विषय जटिल विषय भएकाले राजनीतिक समितिमार्फत तीन महिनाभित्र समाधान गर्न सकिने भएकाले सहमतिमा आउन मोर्चाका नेतालाई अनुरोध गर्नुभएको थियो । मोर्चाका नेताहरुसँग पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै छलफल भएको अध्यक्ष दाहालका सहयोगी खकुरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया