हमार पहुरा डट कम
धनगढी, फागुन १९ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै मोर्चाले बन्दको आव्हान गर्नुपरेको बताएको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको छ ।
२०७२ साल भाद्र ७ र ८ गते भएको टीकापुर घटनापछि अझै केही थारु जेलबन्दी जीवन विताईरहेकाले त्यसलाई राजनीतिक मुद्दा बनाई विना सर्त रिहाई गरिनुपर्ने, थारु राजबन्दीमाथि लगाइएका मुद्दाहरु खारेज गरिनुपर्ने, थारुसँग विगतको सरकारले पटक पटक गरेको विभिन्न सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने मागसहित मोर्चा आन्दोलित छ ।
केही दिनअघि धनगढीको क्याम्पसरोडमा एकसाता अमरण अनसन बस्नुभएका लक्ष्मण थारु तथा मोर्चाका सदस्यहरुले माग सम्बोधन गराउने आश्वासनमा अनसन स्थगित गर्नुभएको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारीको पहलमा अनसन स्थगित गरिएको मोर्चा कैलालीका संयोजक माधव थारुले बताउनुभयो ।
नयाँ संविधानमा थारुको मुद्दा अझै सम्बोधन गर्न बाँकी रहेको, थरुहट भुगोललाई खण्डित गरिएको, राज्यको सबै संयन्त्रमा अझै समानुपातिक समावेशीताको सुनिश्चित्ता नभएको त्यसको सम्बोधन सरकारले गर्नुपर्ने मागसहित मोर्चाले बन्दको आव्हान गरिएको बताएको छ । बन्द अबधीमा यातायात, शैक्षिक संस्था, कलकारखाना सबै बन्द हुने र दमकल, एम्बुलेन्स, प्रेस, शबबाहन, दुध बोक्ने गाडी, औषधि बोकेका गाडीलाई छुट दिइने संयोजक थारुले बताउनुभयो ।