धर्मले छाउपडी मानेको छैन

विचार

पुरनसिंह दयाल

यदि छाउले हाम्रो हिन्दु धर्म संस्कृतिमा आघात पुग्थ्यो होला भने त्यो त उहिले नै पतन भैसकेको हुन्थ्यो होला । जान्ने मान्छेले मासिक धर्म आरम्भ हुनुलाई फूल फूलेको वा शुभ लक्षण आरम्भको रुपमा पनि लिन्छन् । अज्ञानताले तिनलाई मात्र होइन नाबालिकलाई समेत घरबाट टाढा मृत्युको मुखमा धकेल्छन् । महिनावारी हुँदा ५–७ दिन र सुत्केरी हुँदा ११–१२ दिन । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने जुन अभियान चलेको छ त्यसले यदि कतै हामीले कल्पना गरेको सृष्टिकर्ता देवता भने पक्कै खुशी भैरहेको होला ।

यस पवित्र अभियानमा लागेका तिनै तहका सरकारदेखि विभिन्न तहका संघ संस्था र व्यक्तिहरु बधाईका पात्र हुनुहुन्छ । यस प्रथाकाविरुद्ध लामो समयदेखि विभिन्न संघ संस्थाले र व्यक्तिले कुरा उठाउँदै आएका हुन् । भत्काउने काम पनि भएको नै हो । तर यस तहमा पुगेको थिएन । अभियानको रुपमा लग्ने कार्य पनि तिनै दिदीबहिनी र अबोध बालबालिकाबाट भएको हो । जसले छाउगोठमा मृत्युवरण गरेका थिए ।तिनको शहादतले सिंहदरबार मात्र हल्लिएन, मानवीय समवेदना भएका विश्वका कुना काप्चाबाट एक स्वर उठ्यो ।

कलमकार पनि त्यसै छाउपडी प्रथाका लागि बदनाम भएको प्रदेशको एउटा पात्र हो । २०६८ असोजमा आफ्नै नेतृत्वमा देवकी, झुमा र छाउपडी कुरीतिको सम्बन्धमा अध्ययन अनुगमन गर्न संसदीय उपसमिति गठन गरियो । अध्ययन र अनुगमन गरी संसदको महिला बालबालिका र समाज कल्याण समितिबाट प्रतिवेदन पारित गरिएको थियो । २०६९ जेठ १४ मा संविधान सभाको विघटनले गर्दा संसदबाट पारित हुनसकेन । केही घटना र प्रसङ्गहरुले छाउपडीको विभेद देवताले होइन, मान्छेले सिर्जना गरेको हुन् । केही तथ्य हेरौं–

भगवती वा धमेनी आफै महिला हुन् । आफै छुई हुन्छिन् अर्थात् दुवैमा मासिक रक्तस्राव हुन्छ । त्यतिखेर देवताले कुनै ठूलो आपत्ति प्रकट गरेको हुँदैन । धामी कामेर भन्नुहुन्छ– “छुया र जुठा कि बार कोस बाटो छोड्छु” तर कहिलेकाँही धामी र देवताका कारिन्दा श्रीमतीसँग सुतेकै अवस्थामा राती श्रीमतीलाई मासिक धर्म भैदिन्छ । विहान वा निद्रा खुलेपछि मात्र अलग हुन्छिन् । त्यतिखेर धामी विचराको के हुन्छ होला ? बरु त्यसका लागि चित्त बुझाउन के भनिन्छ भने ‘सुनि सुतकदेखि ग्रहण’ यसबाट प्रष्ट के हुन्छ भने यो छुवाछूत हामी मान्छेले गर्दा सिर्जना भएको रहेछ, देवताबाट होइन । फेरि धामी धमेनीमा प्रेम सम्बन्धकाबेला जुठोपना हुँदैन भन्नु झूठो बोल्नु हो । कि भन्नुप¥यो प्रेमको बेलाको जुठो, जुठो होइन ।

भगवती वा धमेनी आफै महिला हुन् । आफै छुई हुन्छिन् अर्थात् दुवैमा मासिक रक्तस्राव हुन्छ । त्यतिखेर देवताले कुनै ठूलो आपत्ति प्रकट गरेको हुँदैन ।

हामी सबैले देखेका छौं कहिलेकाँही महिला भान्सामा खाना पकाइरहेकाबेला पर सरेको महशुस गर्नुहुन्छ । अनि, डाडुपन्यु त्यही छोडी बाहिर गोप्य ठाउँमा गई छुट्टिनु हुन्छ । अनि, बाहिरबाट नै अरुलाई खाना हेर भनिन्छ । के उक्त परिवारका मान्छे त्यो छुई सकिएको दालभात, रोटी तरकारी फाल्छन् त ? महिला कहिलेकाँही गाई भैंसी रहँदा पनि उक्त घटना घटिदिन्छ । उक्त दूहेको दूध परिवारजनले फाल्दैनन् । कुनै महिलालाई मात्र गाई भैंसी दुही एकहाते भएको हुन्छ अरुलाई दूध दुहुन दिंदैन । त्यतिखेर चोखो भाँडो भनेर सुख्खा भाँडो उक्त महिलालाई दिइन्छ । दूध परिवार भित्रका चोखा भनिने धामी पण्डा भण्डारबाहेक लसपस गरी सबै खान्छन् । मुर्खता के छ भने त्यसै दूधलाई दुहुने महिलाले खान पाउनु हुन्न ।

वर्षा भएको समय घरबाहिर सुत्केरी वा मासिक धर्मवाली हिंडेको बाटो धर्मको जामा पहिरिएका पनि हिंड्ने गर्छन् । तिनै धामी पण्डितहरु तीर्थस्नानका लागि नेपाल लगायत भारतका विभिन्न तीर्थस्थल जान्छन् । आफूसँग बसेकी नचिनेकी महिला चोखी हो वा विटुलो हो केही थाहा हुँदैन । भात न खाए पनि होटलमा चिया पकाउने महिलालाई तिमी चोखी होउ वा होइनौं भनेर सोधिदैन । हाम्रा तीर्थका नदीमा माथिबाट तल समुद्रमा पुगुन्जेलसम्मका किनारका बस्तीका महिला महिनाबारी होस् वा सुत्केरी होउन् नुहाउने र लुगा फाटो धोएको हुन्छ । मरेका मानिस पोलेर त्यसैमा फालिन्छ । मृत गाईवस्तु त्यही फालिन्छन् । हिन्दु, मुस्लिम, सिख्ख, इसाईहरु त्यही किनारमा दिशापिसाब गर्छन् । तिनै नदीमा तीर्थको पवित्र जल भनेर स्नानगरी सूर्यलाई पनि अर्घ चढाइन्छ । कूल देवतालाई जल चढाएर चोखो पारेको र आफूले पुण्य कमाएको गर्व गन्छि ।

महिनावारी भई अपवित्र भएको पाप पखाल्न भनी ऋषिपञ्चमीमा व्रत उपवास गरी पण्डितबाट पूजापाठ गराई पाप मोचन हुने प्रथाले वर्षभरि आफू अशुद्ध रहेको भान भइरहन्छ । जबकि आमालाई नै अपवित्र र पापयोनी भन्ने हिन्दुधर्मका रक्षकको जन्म पनि त्यही मासिक धर्मको अनिवार्यता र सुत्केरीको माध्यमबाट हुन्छ । चित्त बुझाउन भनिदियो– जन्मना जायेत शुद्र, कर्मर्णा दिज उच्चते । परिवर्तनका लागि सबै कुरा सम्झाई बुझाईले मात्र नपुग्ने अवस्थामा कहिलेकाँही बल प्रयोगको पनि अपरिहार्यता हुनेहुँदा छाउपडी गोठ भत्काउने काम सकारात्मक हुँदैगएको छ । तर, पुनर्निर्माण गर्नु, रुप फेर्नुको पछाडिका कारणहरु धर्म संस्कृतिको त्रास नै हो ।

धर्म भनेको असल कुरा हो भने त्यसभित्र कमसल कुराले फोहोर किन थुपार्नु प¥यो ? यस्ता विभेदकारी पाठ्य सामग्रीलाई प्रतिबन्ध लगाउनुपर्छ ।

लामो संघर्षपछि बनेको संविधान र ऐन कानुन मान्छेमाथि समस्या आइपर्दा मात्र हेरिन्छ । जबकि संस्कृतमा लेखिएका विभेदकारी पुराण, स्मृति र अन्य धार्मिक भनिएका ग्रन्थको ठूलो तामझामका साथ महिलालाई नै कलश बोकाइन्छ । यज्ञ स्थापना गरी नाचगानका गराइन्छ । यसले गर्दा यी वर्तमानका संवैधानिक नियम कानुन औचित्यहीन हुन पुग्छन् ।

अब बेला आयो धार्मिक नाम दिइएका ग्रन्थको जसमा अधार्मिक, अमानवीय कपोलकल्पित वा आजको युगमा समय सान्दर्भिक नरहेका कथा, उपदेशहरु झिकी सर्वहितकारी प्रसङ्ग, कथा र उपदेश मात्र राखी प्रवचन गर्दा फरक नपर्ला । भारतमा मनुस्मृतिलाई पटक पटक जलाइएको छ । तर त्यसको आधारमा आफ्नो खेती गर्नेले नयाँ संस्करण निकालेकै छन् । धर्म भनेको असल कुरा हो भने त्यसभित्र कमसल कुराले फोहोर किन थुपार्नु प¥यो ? यस्ता विभेदकारी पाठ्य सामग्रीलाई प्रतिबन्ध लगाउनुपर्छ ।

सरसफाई सबै प्राणीका लागि अनिवार्य शर्त हो । शौच गरेपछि पुरुषले पनि स्वच्छ सफा नभै खाने कुरालाई र धार्मिक कार्य गर्न आफूलाई नै अपवित्र महशुस गर्छ । त्यसकालागि कसैले उसलाई तिमी सफा होउ भन्नै पर्दैन, बच्चाहरुलाई बाहेक । मासिक धर्मको समय नियमित रुपमा रक्तस्रावले महिलाको तल्लो अङ्गका वस्त्र स्वभाविक रुपले फोहोर हुन्छ । समय समयमा सफा गर्नु अनिवार्य हो । तर हिजोको दिन नियमित रुपमा लुगा फेर्ने कुरा त परै जाओस्, वर्षमा दुईजोर लुगा हाल्न पनि सबैलाई सहज हुँदैनथ्यो । सबै ठाउँमा नियमित नुहाईधुवाई गर्न पानीको सुविधा थिएन । तीन दिनसम्म शरीरमा फोहोर बोकेर हिंड्नुपर्ने वा आफ्ना ठूलाबडाबाट टाढा लुक्नपर्ने अवस्था थियो । अहिलेको नयाँ चेतना नयाँ सुविधा र आर्थिक जीवनमा पनि क्रमिक सुधार आइरहेकाले महिला वर्गले पनि आफूमा समयानुकूल परिवर्तन ल्याउनु पर्छ । परिवारजनले पनि सकारात्मक रुपमा रुपान्तरित हुनु आवश्यक छ । कुनै परिवारमा पुरुषले विभेद नगर्न खोज्दा पनि महिलाले आफै ढिपी गरेको देखिन्छ । विगतको धार्मिक सन्त्रासकै कारण होला ।

आर्य खसहरुको बाहुल्यता भएको क्षेत्रमा देवकी प्रथा, वादी प्रथा, र छाउपडी प्रथाले महिलामाथिको अन्यायको दोष हाम्रो धर्म र संस्कृतिले सिर्जना गरेको चेतनामाथि नै जान्छ । तसर्थ अब हाम्रा धर्म, संस्कार संस्कृतिलई नयाँ ढङ्गले परिभाषित गर्नुपर्छ । त्यसो गरेमा अकालमै मृत्युको मुखमा पुग्ने हाम्रो नारी र बालबालिका संरक्षित हुन्छन् । सित्तैमा देवी देवताले पनि आरोप खेप्नुपर्ने छैन ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)
गोरखापत्रबाट साभार

तपाईको प्रतिक्रिया