कोरोना भाइरसका कारण ओझेलमा पर्यो यो वर्षको थारु ‘चिरै–भजहर’


लक्की चौधरी
काठमाडौं, चैत १५ गते । थारु समुदायको अविवाहित युवतीको स्वतन्त्र पर्वकोरुपमा स्थापित चिरै–भजहर पर्व कोरोना भाइरसको महामारीका कारण यो वर्ष ओझेलमा परेको छ । चैत शुक्लपक्षको पहिलो सोमबार पर्ने यो चिरै–भजहर पर्व यो वर्ष मनाउने वातारण बन्न सकेको छैन ।

सरकारले कोभिड १९ कोराना संक्रमण फैलिन नदिन चैत ११ गते मंगलबारदेखि एक साताका लागि लक डाउन (घरबाट निस्कन निषेध) घोषणा गरेपछि यसको मारमा यो पर्व पर्ने भएको हो । सामुहिकरुपमा पर्व विवाह तथा भोज कार्यक्रम नगर्न सरकारको निर्देशन छ । त्यसो गरेमा कोरोना भाइरस एकबाट अर्काेमा सर्ने र महामारीको रुप लिएमा नियन्त्रण गर्न कठिन हुने बुझाई सरकारको छ । त्यसलाई ध्यान दिई नेपाली नागरिकले सरकारको अभियानलाई सहयोग गर्नुपर्ने अवस्था छ । कोरोना भाइरसको संक्रमणको अवस्था फैलिदै गएमा लक डाउनको समयअवधि बढ्ने संकेत सरकारले गरिसकेको छ ।

उता दक्षिणको छिमेकी देश भारतले पनि चैत ११ गते राती १२ बजेदेखि तीन साता अर्थात् चैत मसान्तसम्म भारतलाई लक डाउनको घोषणा गरिसकेको छ । त्यसकारण पनि नेपालमा लक डाउनको समय बढ्ने अनुमान लगाउन सकिन्छ ।

के हो चिरै भजहर
तराईमा बसोबास गर्ने थारु समुदायले वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदैनन् । समुदायको सबैभन्दा ठूलो पर्व ‘माघी, माघ’ लाई नयाँ वर्षकोरुपमा मनाउँछन् । २०६८ को जनगणनाअनुसार थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । उपत्यकासहित तराईका २४ जिल्लामा थारु समुदायको बसोबास छ । हरेक महिना यो समुदायको विशेष पर्वहरु पर्छन् । त्यसमध्ये युवती स्वतन्त्रताको पर्व चैत–वैशाख महिनामै पर्छ । त्यो पर्वलाई थारु समुदायले ‘चिरै भजहर’ नाम दिएका छन् । चिरै भनेको चरा हो । भजहर भनेको भाग्ने । अर्थात् चराजस्तै एकदिन घरबाट स्वतन्त्र भएर बाहिर रमाउने पर्व । यो दिनलाई सबै दुःख पीडा र झन्झटबाट मुक्त हुने दिनको रुपमा हेरिन्छ । यो पर्व अविवाहित युवतीहरुले मात्र सामुहिक रुपमा मनाउँछन् । यो दिन घरको कुनै काम गर्नु पर्दैन । खानेकुरा घरबाटै लगेर नजिकको वन, सार्वजनिक स्थल, ताल तलैया तथा नदि किनारमा गएर रमाइलो गर्दै पर्व मनाउँछन् । कोहीले घरबाटै पकाएर खानेकुरा लग्ने गर्छन् भने कोही कोही पकाउने भाँडासहित लिएर जान्छन् र त्यही मीठा परिकार पकाएर खान्छन् ।

यो दिनलाई सबै दुःख पीडा र झन्झटबाट मुक्त हुने दिनको रुपमा हेरिन्छ । यो पर्व अविवाहित युवतीहरुले मात्र सामुहिक रुपमा मनाउँछन् ।

उसो त चिरै र भजहर पर्व फरक फरक हुन् भन्ने थारु अगुवाहरुको भनाई छ । चिरै पर्वमा अविवाहित युवतीहरु मात्र स्वतन्त्ररुपमा मनाउँछन् । भजहरमा विवाहित महिला र पुरुषसमेत सहभागी हुनेगर्छन् । भजहरमा गुरुवाद्वारा पूजा लगाउने प्रचलन पनि देखिन्छ ।

चिरै–भजहर पर्व मनाउने नेपाली भित्ते पात्रोमा समय निर्धारण गरिएको हुँदैन । थारु भित्ते पात्रोअनुसार यो पर्व कहिले चैतमा त कहिले वैशाख महिनामा पर्छ । भित्ते पात्रो प्रकाशनकर्ता दिलबहादुर चौधरीले चैत शुक्ल पक्षको पहिलो सोमबार चिरै पर्व मनाउने गरिए पनि भजहर पर्व भने वैशाखमा मनाउने गरेको बताउनुहुन्छ । खासगरी पश्चिम नेपालका थारु समुदायका चेलीबेटीले यो पर्व धुमधामका साथ मनाउँछन् । पर्वको दिन थारु पौराणिक खेलहरुजस्तै– छुर, कोईली दिदी, कौरी लुकावर, कबड्डी, नुकिक्साँधा लगायतका खेल खेलिन्छ । यी खेल थारु समुदायमै सीमित छ । एक आपसमा रमाइलो गर्ने, शारीरिक र मानसिक व्यायाम हुने यी खेललाई सबै समुदायमा लग्नसके यसले राष्ट्रियस्तरमै स्थान कायम गर्न सक्थ्यो ।

चिरै–भजहर पर्वमा विशेष पूजा गरेर पनि मनाउने प्रचलन देखिन्छ । थारु गाउँका गुरुवा (तन्त्रमन्त्र जान्ने धामी) हरुले गाउँको सुरक्षार्थ पूजापाठ गर्नेगरेका छन् । गाउँबाट टाढा स्वतन्त्रतापूर्वक रमाइलो गर्न गएका युवतीहरुको रक्षा र सुरक्षाका लागि साथमै गाउँका गुरुवा र अन्य अभिभावक पनि गएका हुन्छन् । त्यहाँ उनीहरुले गाउँमा रोगव्याधी नआवस्, जंगली जीव जनावरले गाउँका सदस्यलाई दुःख नदिऊन्, दुश्मन बैरीको नजर नलागोस्, कुनै रोगको महामारी गाउँमा नआवस् भन्ने उद्देश्यले पूजा लगाउने गर्छन् । त्यहाँ गाउँका साझा देवतालाई खुशी बनाउन पूजा लगाइने गरिन्छ । त्यसो गर्दा गाउँका साझा देवता (देवथान) ले गाउँका सदस्यको रक्षा गर्छन् भन्ने विश्वास छ । गाउँमा रहेको दुःख, विमार, चिन्ताहरुको निकासका लागि निकासी पूजागर्ने गरिन्छ । अर्थात् गाउँमा रहेका सबै दुःख, पीडा र रोगव्याधीलाई गाउँको सीमाना कटाएर धपाउने पूजा गरिन्छ ।

चिरै पर्वको दिन चेलीबेटीहरुले थारु पोशाकमा हुन्छन् । नयाँ नयाँ लेहङ्गा, चोली, गुनिया, तथा अन्य शृङ्गारका सामग्री लगाएका हुन्छन् । गाउँका चेलीहरुले सडक गल्लीमा हिड्ने चारपाङ्ग्रे, दुई पाङ्ग्रे गाडी रोकेर केही सहयोग संकलन गर्छन् । हाते साङ्लो या डोरीले बाटो छेकी इच्छाअनुसारको दक्षिणा असुल्छन् । त्यो दिन चेलीबेटीहरु स्वतन्त्र भएकाले बाटोमा हिड्ने यात्रीहरुले खुशीसाथ चेलीबेटीहरुलाई सहयोग गर्छन् । कुनै रोकतोक या विरोध हुँदैन । थारु चेलीहरुको स्वतन्त्रताको पर्व वर्षमा एकदिन मात्र आउँछ । त्यसैले गाउँका सबै सदस्यले खुला दिलले सहयोग गर्छन् । चेलीबेटीहरुसँगै घरका महिला सदस्यहरु पनि चिरै भजहर मनाउन सहयोगीको भूमिका खेल्न साथै गएका हुन्छन् । त्यो दिन पुरुषहरुले घरको भातभन्सा तथा अन्य काम गरी सहयोग गर्छन् । संकलित सो सहयोगले चेलीबेटीहरुले सामुहिकरुपमा उपहार किन्ने गर्छन् । कुनै कुनै ठाउँमा सोही रकमले वनभोज खाने प्रचलन पनि छ ।

थारु चेलीहरुको स्वतन्त्रताको पर्व वर्षमा एकदिन मात्र आउँछ । त्यसैले गाउँका सबै सदस्यले खुला दिलले सहयोग  गर्छन् ।

चिरै–भजहर पर्व कसरी शुरु भयो भन्ने एकिन इतिहास त भेटिएको छैन । तर पनि थारु समुदायमा महिला स्वतन्त्रताको चेत आएदेखि यो पर्व मनाउन थालिएको थारु बुद्धिजिवीहरुले तर्क गर्नेगरेका छन् । उसै पनि थारु समुदाय ‘महिलाप्रधान’ समुदाय हो । महिला नै घरमुली रहने र घरको हरहिसावको काम पनि महिलोले नै राख्ने प्रचलन छ । महिलालाई उच्च सम्मानसाथ व्यवहार गर्ने, कुनै भेदभाव नगर्ने प्रचलन सो समुदायमा छ । थारु समुदायमा महिला बाहिर सर्दा समेत भेदभाव र छुवाछुत गरिदैन । संयुक्त परिवारमा बस्न रुचाउने थारु समुदायको एकै घरमा डेढसय जनासम्म सदस्य एकै छानामुनी रमाएर बसोबास गर्छन् । बृद्धबृद्धा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै सम्मानसाथ राख्ने प्रचलन छ । बृद्धाश्रममा पठाउने चलन अहिलेसम्म छैन । थारु समुदायबाट अरु समुदायले पनि पाठ सिक्न सके बृद्धबृद्धाहरुको उचित सम्मान हुनेथियो ।

तपाईको प्रतिक्रिया