हमार पहुरा डट कम
काठमाडौं, वैशाख २ गते । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पुष्टिसँगै अब कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या १६ पुगेको छ ।
लण्डनबाट चैत ५ गते स्वदेश फर्केका उनीहरु सो अपार्टमेन्टमा बस्दै आएका थिए । एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने आशंकामा परीक्षण गर्दा दुई जनामा पोजिटिभ र एकजनामा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा दुईजना ५८ बर्षिया पुरुष र ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
तीनै जनालाई उपचारका लागि पाटन अस्पतालमा भर्नागरी पीसीआर माध्यमबाट थप परिक्षण गर्दा दुई जनामा पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एक जनाको पछिल्लो परिक्षणमा पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।
उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण आजैबाट सुरू गरिएको मन्त्रालयले जनाएको छ । निजहरूसंग सम्पर्कमा रहेकाको खोजी शुरु भएको मन्त्रालयले जनाएको छ ।
लकडाउनको समय बध्यो
यसैबीच नेपाल सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज मंगलबार नै छिमेकी मुलुक भारतले पनि लकडाउनको समयावधि बढाएर वैशाख २१ गतेसम्म पुर्याएको छ । छिमेकी मुलुकले समय बढाएपछि कोरोनाप्रति सचेत हुँदै नेपाल सरकारले पनि समय लम्ब्याउने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी गराउनुभयो । नेपालले यसअघि नै हवाई उडान १८ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।