हमार पहुरा डट कम
काठमाडौं, वैशाख ६ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो युवती प्रसिद्धि श्रेष्ठले आत्मविश्वास भएमा कोरोनालाई जित्न सकिने बताउनुभएको छ । उहाँ २७ दिनको अस्पताल बसाई पछि शनिबार डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वयम् आइसोलेसनमा बस्नु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो । रोग लुकाउनु भन्दा समयमै अस्पताल गएर जाँच गर्दा जोगिन सकिन्छ उहाँले भन्नुभयो ।
टेकु अस्पतालबाट निको हुनुभएकी उहाँले ‘पब्लिक साइडबाट सेल्फ आइसोलेसनमा बसेमा कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित भएको छ भन्नुभयो । उहाँले आफूले पाएको स्वास्थ्य सेवा अन्यत्रका विरामीलाई दिन सरकारसँग अनुरोध पनि गर्नुभयो ।
काठमाडौं निवासी उहाँको लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उपचारको २७ दिन पछि डिस्चार्ज हुनुभएको हो । कतार एयरको विमानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आउनु भएकी उहाँलाई सँगै यात्रा गरेका भियतनामी साथीलाई संक्रमण भएपछि उहाँको पनि स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएको थियो ।
यसैबीच, नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा। विकास देवकोटाले संक्रमित ३० मध्ये दुईजनाको पूर्ण रुपमा निको भएको र बाँकी २८ जनाको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार केही व्यक्तिहरुको द्रुतगतिको परीक्षण (आरडीटी) मा पोजेटिभ आएकाले पीसीआर परीक्षण भइरहेको छ । प्रसिद्धि श्रेष्ठको उपचारमा संलग्न सबै चिकित्सकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिनुभएको छ । कोरोना पीडितको सेवामा यसैगरी लाग्न उहाँले सबैलाई आग्ह गर्नुभएको छ ।
यसअघि चिनको बुहानबाट आएको पहिलो कोरोना पीडित व्यक्ति पनि निको भएर घर फर्किनुभएको थियो । उहाँको परिचय सार्वजनिक नगरिएको भएपनि श्रेष्ठको चाहनाअनुसार उहाँको परिचय सार्वजनिक गरिएको छ । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ । कसैको मृत्यु भने भएको छेन ।
६५ वर्षिया बृद्ध पनि रोगमुक्त
कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेनु भएकी बागलुङकी ६५ वर्षीय वृद्धा पनि कोरोनामुक्त हुनुभएको छ। धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उहाँको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उहाँ चैत ४ गते बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आउनुभएको थियो ।
शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिनुभयो । सैंजुकाअनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्जको तयारी गरिएको छ ।