हमार पहुरा डट कम
काठमाडौं, वैशाख ९ गते । उदयपुरमा थप ११ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यसअघि ३१ जना संक्रमित थिए । चारजना निको भएर घर फर्किसकेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
सो जिल्लाको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म ८ हजार ७७४ जनाको परीक्षण गर्दा ८ हजार ७३१ जनामा संक्रमण देखिएको छैन ।
मन्त्रालयकाअनुसार १०७ जना आइसोलेशनमा छन् भने ४२ जना संक्रमित भएका छन् । त्यस्तै, ४ जना निको भएर घर फर्किसकेका छन् भने कसैको पनि मृत्यु भएको छैन । तर देशबाहिर विदेशमा रहेका २८ जना नेपालीको मृत्यु भइसकेको समाचार आएको छ । यस्तो अवस्थामा थप सचेत्ता अपनाउन आवश्यक रहेको भन्दै सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।