पार्टी र सरकार दुवै बलियो बनाउने अभियानमा छुँः नेता गौतम


हमार पहुरा डट कम
काठमाडौं, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै गौतमले त्यस्तो बताउनुभयो ।

“पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भयो भने देश र जनताको पक्षमा काम गर्न सक्षम हुन्छ” नेता गौतमले भन्नुभयो, “कोरोनाले संकटपूर्ण रहेको यो अवस्थामा पार्टी र सरकार दुवै बलियो बनाउनेमा सबैको ध्यान जानुपर्छ ।” आफूलाई जोडेर मिडियामा विभिन्न थरिको समाचार आएकोमा उहाँले असन्तुष्टी जनाउनुभयो ।

वैशाख १७ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने ‘नसोचेको प्रस्ताव’ राख्नुभएपछि मिडियाले आफूखुशी समाचार बनाएको प्रष्ट पार्नुहुँदै नेता गौतमले ‘प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने प्रस्ताव आफूले बैठकमा नगरेको प्रष्ट पार्नुभयो ।

पार्टीले आवश्यक ठानेर निर्णय गर्छ भने त्यसलाई अस्वीकार गर्ने कुरा रहँदैन, तर मैले प्रधानमन्त्री हुनुपर्छ भनेको छैन

वैशाख २० गतेको अर्को सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सदस्य बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउने तयारी पार्टीले गरेको अनुमानसहितको समाचार मिडियाले सम्प्रेषण गरेका थिए । तर सो बैठकमा पनि आफूले ‘प्रधानमन्त्री हुनुपर्छ’ भन्ने माग नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

“पार्टीले आवश्यक ठानेर निर्णय गर्छ भने त्यसलाई अस्वीकार गर्ने कुरा रहँदैन, तर मैले प्रधानमन्त्री हुनुपर्छ भनेको छैन” नेता गौतमले भन्नुभयो, “पार्टीको जिम्मेवार नेता तथा कार्यकर्ताको हिसावले पार्टीले गर्ने निर्णय विरुद्ध त जान सकिदैन नि ।” मिडियामा आएको समाचारजस्तो आफूले पाल्पा १ वा भक्तपुर २ क्षेत्रबाट चुनाव लड्ने कुनै मनसाय व्यक्त नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

यसअघि तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकता प्रक्रियामा लग्ने महत्वपूर्ण भूमिका निर्वाह नेता गौतमले गर्नुभएको थियो । उहाँकै प्रयास र पहलमा दुई पार्टीबीच २०७५ जेठ ३ गते एकता सम्भव भएको थियो ।

यता प्रतिनिधिसभाका सांसद तुलसी थापाले पार्टीभित्र अनुशासन हराएको टिप्पणी गर्नुभएको छ । नेता गौतमलाई लिएर पार्टीभित्र र बाहिर अनेक टिप्पणी हुन थालेपछि उहाँले शनिबार सो टिप्पणी गर्नुभयो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले भन्नुभएको छ, “हिजो अनुशासनको पाठ सिकाउने गुरुहरुको सीप आज कता हरायौ ?” मिडियाले बोल्दै नबोलेको अनुमानकारिता गरेकोमा पनि उहाँले रोस प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया