काठमाडौं, पुस ११ गते । सिराहाको लहानमा शनिबारबाट शुरुभएको दुई दिने थारु राष्ट्रिय महिला भेलाको उद्घाटनसत्र सम्पन्न भएको छ । देशभरको १५ जिल्लाको महिलाहरुको प्रतिनिधित्व रहेको उद्घाटनसत्रमा थारु आन्दोलनलाई थप सशख्त बनाउने धारणा वक्ताहरुले राखेका छन् ।
थारु कल्याणकारिणीसभाका संरक्षक तथा पूर्व अध्यक्ष अमृत खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसत्रमा वक्ताहरुले थारुको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन सांगठनिक संरचनालाई अझ बलियो बनाएर अगाडि बढ्ने बताएका छन् । भेलामा सहभागी थारु युवासभाका अध्यक्ष कानूनलाल चौधरीका अनुसार पन्ध्र जिल्लाबाट करिब दुईसय जनाको सहभागीता छ ।
उद्घाटनसत्रमा पाँचसय जनाजतिको सहभागिता रहेको बताइएको छ । सभाका केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री राजकुमार लेखीले थारु आन्दोलन अझ प्रभावकारी बनाउन महिलाहरुको संगठनलाई थप मजबूत बनाउन आवश्यक रहेको बताउनुभयो ।
करिब १४० दिनदेखि थारुको आन्दोलन जारी रहँदासमेत सरकारले थारुको मागप्रति जिम्मेवार नभएकाले आन्दोलनलाई थप सशख्त बनाउन आवश्यक रहेको भन्दै नेता लेखीले भन्नुभयो, “थारुको माग सम्बोधन नहुँदासम्म आन्दोलन रोकिदैन, आन्दोलन झन कडारुपमा अगाडि बढ्छ” लेखीलाई उदृत गर्दै युवा सभाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
शनिबार दिउँसोबाट शुरुभएको उद्घाटनसत्र साँझ ४ बजेतिर सकिएको छ । बन्दसत्र पनि शनिबार ६ बजेबाट शुरुभएको र आइतबार २ बजेसम्म कार्यक्रम सकिने आयोजक संस्थाकी अध्यक्ष हरिदेवी चौधरीले बताउनुभयो । बन्दसत्रमा कार्यपत्रहरु प्रस्तुत भई त्यसमाथि गम्भीर छलफल भएर भेलाको निस्कर्ष निकाल्ने आयोजकले बताएको छ ।
सभाको भातृसंगठनकोरुपमा रहेको महिला सभाका केन्द्रीय पदाधिकारी, सभाका केन्द्रीय पदाधिकारी, महिलासभाका पदाधिकारी तथा सदस्यहरु, युवा सभाका पदाधिकारी तथा हरेक जिल्लाबाट पाँचजनाका दरले भेलामा सहभागीता रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
उद्घाटनसत्रमा अमृत खाँ, हरिदेवी चौधरी, राजकुमार लेखी, कानूनलाल चौधरी, ध्यानी उराव लगायतले धारणा राख्नुभएको थियो ।
तस्विरः राजकुमार लेखीको फेसबुकबाट ।