थारूहरुको राष्ट्रवादी चरित्र

विचार

कारी महतो

हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दैआएका थारु समुदायले विभिन्न कालखण्डमा देशकालागि निरन्तर अनेकौं योगदान गर्दैआइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रहे, कतिपय दस्तावेजको रुपमा प्रकाशनमा आए । तीमध्ये एकीकरणपूर्व र एकीकरण पश्चात नेपालका सीमा बाहिरका दुश्मनले आक्रमण गरेको समयमा थारु समुदायले खेलेको उल्लेखनीय भूमिकाबारे चर्चा गर्न सान्दर्भिक होला ।

प्राचीन कालमा थारु

यारी हे…ऊ… उत्तरल भादो चढली कुँवार
घर घर बेनी हजरारे बेगारी चलाय ।
कुटलीमा चिउरा, चाउर बान्हलीमा भाररे
सपरुरे भिरिहारे दोलखा नेपाल रे । सपरहुरे…
यारी हे…ऊ… बाङलीमा चिउरा चाउरक भार रे हो …
सपरह भरिहारे दोलखा नेपाल । सपरह …
एकओरि बाङलीमा नुन तेलक भार हो …
एकओरि बाङलीमा तिउनाक भार हो रे । एकओरि …

यो “दोलखा नेपाल” नामक निकै ऐतिहासिक गीतिकथाको एउटा सानो अंस हो । चितवन जिल्लाका थारु समुदायमा प्रचलित यो गीत अहिले पनि केही थारु महिला र पुरुषमा मुखाग्र छ । यो गीत रोपाइँमा गाउने गरिन्छ । गीतलाई झुमरी नाचमा निकै रोचकपूर्वक घण्टौंसम्म नाटकीयरुपमा पनि प्रस्तुत गरिन्छ । यो गीतिकथाको भाव संक्षेपमा यस्तो छ – ‘बाहिरी दुश्मनसँग युद्ध भैरहेको समयमा गाउँका हरेक घरका पुरुषहरु देशका सिपाहीका लागि विभिन्न खाद्यपदार्थ पु¥याउन दोलखा जान्छन् । खाद्यान्न पु¥याउन गएका एक नवविवाहित युवकलाई हतियार दिएर षडयन्त्रपूर्वक लडाई गर्न पठाइन्छ । युद्धमा उनको मृत्युहुन्छ । युवकलाई युद्धमा पठाउने षडयन्त्रकारीले घर फर्केर युवकको नवविवाहिता श्रीमतिसँग दोस्रो विवाहको प्रस्ताव राख्छ । तर युवतीले आफ्नो श्रीमानको लाश हेर्न चाहन्छ । युवकको लाश आउँछ र अन्तमा युवती श्रीमानसँग सती जान्छे ।’

प्राचीन समयदेखि यो घटनालाई गीत र नाचको माध्यमबाट थारु समाजमा गाउँदै र नाच्दै आइरहेको पाइन्छ । यो गीतमा थारु समुदायले युद्धरत सिपाहीका लागि चामल, चिउरा, दाल, तरकारी, नुन, तेल इत्यादि खाद्यान्नका भार बोकी पैदल हिडेर दोलखा नेपालसम्म पुगेको बुझिन्छ । सिपाहीहरुको भरणपोषणका लागि दोलखासम्म पुगेका थारु समुदाय आफ्नै वरपर भएको अरु युद्धमा ठूलो भूमिका निर्वाह गरेको थियो ।

सेन–मुगल युद्ध र थारु
नेपालको एकीकरण हुनुभन्दा अगाडि तराईमा सेन राजाहरुले शासन गरेका थिए । त्यसबेला भारतका मुगलहरुले निकै दुःख दिन्थे । त्यसबेला सेन र मुगलबीच बेलाबेलामा युद्ध चलिरहन्थ्यो । थारु भाषामा अहिले पनि “मोगल नहिया चिचुरिहर” भन्ने थेगो प्रचलित छ । मकवानपुरका सेन राजाको राज्यकालमा भारतका मुगल शासकसँग लडाइँ हुँदा नौरंगिया प्रगन्नाको सीमानामा भूपाल राय थारुले वीरगति प्राप्त गरेका थिए । भूपाल रायले वीरगति प्राप्त गरेपछि उनका छोरा दर्पनारायण रायले पर्सा जिल्ला नौरंगिया प्रगन्नाको वलुवामध्ये ढोलीगाउँ मरवट विर्ता पाएका थिए । दुर्भाग्यवश धेरै समयको अन्तरालमा मरवट पाएको लालमोहर हराएछ । त्यसपछि भूपाल रायका तीन पनातिहरु अर्थात दर्पनारायण रायका नातिहरु मोति राय, शिवनाथ राय र गरवार थारुले राजा राजेन्द्रविक्रम शाहसमक्ष निवेदन दिए । त्यो निवेदनमाथि राजा राजेन्द शाह्रले अनुसन्धान गर्न लगाएछ र अन्तमा त्यो सत्य भएको निश्कर्ष निकाली मरवट विर्ता थामिएकोबारे अर्को लालमोहर जारी गरिदिए । जुन ऐतिहासिक पत्र नं. ३५ मा प्रकाशन भएको छ । उक्त लालमोहरमा मोति राय, शिवनाथ राय र गरवार थारुको नाममा मरवट विर्ता थामिएको व्योहोरा छ । तराईका सेन तथा भारतका मुगल शासकबीच भएको लडाइँमा थारुहरुले सैनिकको भूमिका पनि निर्वाह गरेको देखिन्छ । यो दस्तावेजले थारुहरु खेतीपाती मात्र होइन, देशका लागि बलिदान हुँदैआएको जातिको रुपमा समेत प्रमाणित छ । तराईका सेन राजाकालागि भारतको मुगल शासकहरुसँग लडाइँ गरी शहादत्त प्राप्त गरेका थारुका सन्तानहरुले पाएको मरवट विर्ता एकिकरण पश्चात शाह राजाहरुले पुनः थमौति गरिदिएको दस्तावेजले प्रष्ट पारेको छ ।

नेपाल–अंग्रेज युद्ध र थारु
वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म नेपाल–अंग्रेजबीच युद्ध चल्यो । त्यस युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ । थारुहरुले प्राप्त गरेका कतिपय लालमोहर विभिन्न समयमा आगलागी, बाढी लगायत प्रकोपहरुमा नष्ट भएपनि ऐतिहासिक पत्र नं. ३१ एउटा प्रतिनिधि दस्तावेज हो । त्यस युद्धमा पर्सागढीमा भएको लडाइँमा रन्जित चौधरीले उल्लेखनीय मेहनत गरेको रिझवापत पर्सा जिल्ला, सिधमास प्रगन्नामध्ये वसडिलवा र लोरिआड गरी दुई गाउँहरुमा वि.सं. १८७२ वैशाखदेखि जलकर, वनकर आदि दस्तुर उठाई सरकारलाई बुझाउनुपर्ने जिम्मेवारी सुम्पेको विषय उल्लेख छ । त्यस जग्गामा आवाद तथा गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तान दरसन्तानसम्म वेषवुन्यादको काम गर्न पाउने व्यवस्था गरिदिएको कुरा दस्तावेजमा लेखिएको छ ।

विगतमा सिपाहीहरुको भरणपोषणका लागि तराईका थारुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको कुरा निरन्तर कायमै थियो । विभिन्न समयमा हुने युद्धकालागि खर्च जुटाउन तराईका थारुहरु समर्थ थिए भनेर कुर्त मेयर, जिसेल क्राउसकोफले पनि उल्लेख गरेका छन् । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजलाई हराउनका लागि अंग्रेजहरुको सामरिक चाल अन्तर्गत अंग्रेजले तराईका थारुहरुलाई खाद्यान्न उत्पादन गर्न बन्देज गरिदिएका थिए । खाद्यान्नको अभावमा नेपाली सेनालाई भोकमरीमा पारी कमजोर बनाएको कतिपय विश्लेषकहरुले उल्लेख गर्नेगरेका छन् ।

सुगौली सन्धी र थारु
नेपाली राजनीतिमा सुगौली सन्धीको कुरा व्यापक स्मरण गरिन्छ । नेपाल–अंग्रेज युद्धबीचमा भएको यो सन्धिमा पनि घुमाउरो तरिकाले थारु समुदायबारे बोलेको छ । थारु भनेर किटान त छैन तर स्पष्ट बुझ्न सकिन्छ । सन् १८१५ डिसेम्बर १ मा लिखित सन्धिपत्र १८१६ मार्च ४ मा नेपाल सरकारलाई प्राप्त भएको थियो । उक्त सन्धिपत्रका लागि राजाको सहमति र स्वीकृतिका लागि डिसेम्बर ८ मा ईस्ट इन्डिया कम्पनीले पुनः स्मरणपत्र पठाएको थियो । जसलाई पुरक सन्धी पनि भनिन्छ । उक्त स्मरणपत्रमा राजाको मन जित्नका लागि नेपालका केही भूभाग फिर्ता दिइएको ब्योहोरा उल्लेख छ ।

स्मरणपत्रको धारा ७ मा यस्तो उल्लेख छ – “युद्धको अवधिताक बेलायत सरकारको पक्षलाई समर्थन गर्ने तराईका कुनै पनि बासिन्दालाई नेपालका श्री ५ महाराजधिराजको शासनमा फर्केपछि अभियोग नलगाउने कुरामा मौसुफ सहमत होइबक्सन्छ र जमिनमा खेती गर्नेहरुदेखि बाहेक ती प्रजाहरुमध्ये कोही आफ्ना भू–सम्पत्तिलाई छोड्न इच्छुक भई कम्पनीकै इलाकाहरुमा बस्ने भएमा तिनलाई कुनै बाधा पु¥याइने छैन ।” त्यस समयमा तराईमा खेती गर्ने थारुहरु नै थिए । यो धाराले थारु समुदायको बारेमा जेसुकै भन्न खोजेको भए तापनि थारु समुदायलाई कुनै प्रभाव पार्न सकेन । जमिनमा खेती गर्न छाडेर ईस्ट इन्डिया कम्पनीको इलाकामा बस्न थारुहरु गएनन् । जहाँ छन् त्यहि ठाउँमा रहिरहन रुचाउने थारु समुदायको यो वंशानुगत विशेषता हो ।

सन्धिको स्मरणपत्रको धारा २ बाट अंग्रेजले थारु समुदायलाई दुई टुक्रामा विभाजन गरेको प्रष्ट छ । त्यस धारामा नेपालका तत्कालीन राजालाई फकाउनका लागि तराईका इलाकामध्ये तिरहुत र चम्पारन जिल्लाका विवादग्रस्त जमिनहरु बाहेक केही भूभाग फिर्ता दिएको उल्लेख छ । चम्पारन जिल्ला चितवनसँग जोडिएको भूभाग हो भने तिरहुत चाहि सिरहा, सप्तरीसँग जोडिएको भूभाग देखिन्छ । अहिले पनि चितवनका थारु समुदायका आफ्नै परिवार कोहि सीमापारी र कोहि वारी रहेका छन् । तर पनि अंग्रेजको सीमाभित्र रहेका थारु परिवार स्थायीरुपमा नेपाल आएनन् । नेपालको सीमाभित्र रहेका थारुहरु पनि अंग्रेजको सीमाभित्र बसाइ सर्न गएनन् । सुगौली सन्धी भएको दुईसय वर्षभन्दा बढी भएको छ । चितवनमा रहेका केही थारुजनहरु अहिले पनि चैते दशैंको समयमा सीमापारी लाग्ने एउटा निकै ठूलो मेला (डेवाढ मेला) घुम्न जाने गर्छन् । आफ्ना पुराना आफन्तहरुको घरमा पाहुना बनेर मेजमानी गरेर फर्कन्छन् ।

उता तिरहुतको पनि उस्तै अवस्था छ । सप्तरीमा अहिले पनि तिरहुत गाउँपालिका छ । भारतमा तिरहुता नामक ठाउँ छ । गुगल म्यापमा सर्चगर्दा तिरहुत नामको स्कुल, कलेज, लगायत थुप्रै संस्थाहरु भारतको बिहारमा छ । चम्पारन र तिरहुतको प्रमुख बासिन्दा थारुहरु नै थिए । सन् १६०५ मा तिब्बतका तारानाथद्वारा लिखित “बुद्ध धर्मको इतिहास” मा चम्पारनलाई थारुहरुको व्यापक बसोबास गरेको क्षेत्रको रुपमा प्रस्तुत गरिएको कुरा डा. क्राउसकोफले एक प्रसङ्गमा उल्लेख गरेका छन् । अर्को प्रसङ्गमा मुसलमान विद्वान अल्बेरुनीले १०३३ मा भारतको भौगोलिक प्रस्तुतिमा यसरी लेखेको उल्लेख गरेका छन् – “कन्नोजबाट पूर्वतिर हिँडेपछि वारी र त्यसपछि बिहात भन्ने ठाउँमा आइपग्छौं । त्यहाँबाट पनि अघि बढेपछि दायाँतिरको गाउँलाई तिल्वट (तिरहुत अथवा मिथिला) भनिन्छ । त्यहाँका बासिन्दालाई तरु (तारु) भनिन्छ । (तिनिहरु तुर्कहरुजस्ता निकै काला वर्णका छन् ।) त्यसपछि कम पहाडी क्षेत्रतिर आइन्छ…। तिल्वटको विपरित दिशातिर बायाँतिरको देश… नेपाल ।” यी दुवै प्रसङ्गबाट प्रष्ट हुन्छ कि चम्पारन र तिरहुतका मुख्य बासिन्दा थारुहरु नै थिए । तर सुगौली सन्धीले थारुका एउटै परिवारलाई फुटाएर दुई देशका नागरिकको रुपमा विभाजन गरिदिए । तर भूमिपुत्र थारुहरुले आफ्ना भूमि छाडेनन् । आफ्नै माटोलाई स्याहार गरिरहेका छन् ।

निश्कर्ष
नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ । तर जमिन अझै भारतकै कब्जामा छ । त्यसबाहेक भारतले योजनाबद्ध रुपमा कैयौं ठाउँमा सीमाना मिचिरहेको छ । ती मिचिएको सबै भूभागहरु हाम्रो देशको अधिनमा आउँनैपर्छ । तर नयाँ नक्सा सार्वजनिक हुँदैगर्दा कतिपय दलका नेताहरुले खुट्टा कमाएका छन् । कथित मधेसवादी दलका केही नेताहरुले घुमाउरो तरिकाले भारतको समर्थन गर्दैआएको देखिन्छ । तर थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सम्पूर्ण नेपाली जनताको भावना एउटै छ । सीमा सुरक्षाका लागि सबै एकढिक्का हुनुपर्छ ।

यतिखेर फेरि पनि थारु समुदायका छाता संगठन थारु कल्याणकारिणी सभा लगायत आन्दोलनरत थरुहट थारुवान राष्ट्रिय मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारीगरी समग्र थारु समुदायलाई पुनः राष्ट्रियताको पक्षमा उभ्याएको छ । यद्यपि थारु समुदायका माग र मुद्दाहरु नेपालको संविधानमा अटाएको छैन । थारुका आवाजलाई राज्यले अझै सम्बोधन गर्न सकेको छैन । कुनै दिन समुदायका सवालहरु संविधानमा समावेश गर्न संविधान संशोधन हुनेनैछ । संशोधन गरिनुपर्छ । तीन करोड जनताहरुलाई एकसूत्रमा बाँधेर राष्ट्रिय हित र सीमा सुरक्षामा परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो । देशको सीमा सुरक्षा गर्नुपर्ने हामी सम्पूर्ण नेपालीको महत्वपूर्ण दायित्व हो । सीमारक्षाका लागि सम्पूर्ण जनतालाई परिचालित गरिनुपर्छ । नेपाल आर्मीको अधिनमा रहनेगरी सबैलाई सैन्य तालिम दिइनुपर्छ । निश्चित उमेर समूहका युवाहरुलाई कम्तिमा दुई वर्षका लागि अनिवार्य सैनिक सेवा गर्नुपर्ने बाध्यात्मक कानून बनाइनुपर्छ ।

सन्दर्भ श्रोतः
१. जिसेल क्राउसकोफ, जंगलदेखि जमिनसम्मः थारु इतिहासतिर एक दृष्टि
२. तेजनारायण पंजियार, मेरा आफ्नै शब्दमा थारु जातिको विगतको खोजीमा
३. कुर्त मेयर, नेपालका राजा र तराईका थारुहरु
४. महेश चौधरी, नेपालका तराई तथा यसका भूमिपुत्रहरु
५. सीता चौधरी, दोलखा नेपाल, थारु गीतिकथा
६. तुलसी तिरहुत थारु, तिरहुत माइझ थारु संक्षिप्त जीवनी र तिरहुत वंशावली एक परिचय
७. विभिन्न मिडिया र पत्रपत्रिका

तपाईको प्रतिक्रिया