थारु पत्रकार संघ नेपालले थारु पत्रकारको कोरोना विमा गर्ने


कारी महतो
चितवन, जेठ १५ गते । थारु पत्रकार संघ नेपालको भर्चुवल जुम बैठक विहिबार सम्पन्न भएको छ । बैठकले थारु पत्रकार संघ नेपालका केन्द्रीय कमिटीका सदस्यहरुको पहिलो चरणमा एक लाख रुपियाँको कोरोना विमा गर्ने निर्णय गरेको छ ।

संघका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा वर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भर्चुवल बैठक सम्पन्न भएको हो । बैठकले अनलाइन भर्चुअल पत्रकारिता तालिम आयोजना गर्ने, संघको वार्षिक मुखपत्र ‘फुलरिया’ पत्रिका प्रकाशन गर्ने निर्णय गरिएको छ ।

एकजना थारु पत्रकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा सबै पत्रकारलाई सजग भएर समाचार संकलन गर्न सचेत समेत गराएको छ । सामाजिक र भौतिक दुरी कायम गरी सतर्कपूर्वक रिपोर्टिङ गर्न संघका सल्लाहकारहरुले अनुरोध गर्नुभयो । संक्रमित पत्रकारसहित संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

पहिलो चरणमा केन्द्रीय कार्य समितिका सदस्य र सल्लाहकारहरुको कोरोना बिमा गर्ने र त्यसका लागि केन्द्रीय अध्यक्ष सन्तोष दहित र रामचन्द्र कुश्मीलाई जिम्मेवारी दिइएको महासचिव सन्तकुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै, थारु पत्रकारको क्षमता अभिवृद्धिका लागि अनलाईन भर्चुअल पत्रकारिता तालिम सम्पन्न गर्न महासचिव चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

पहिलो चरणको तालिम ३ दिनको रहने, त्यसपछि आवश्यकताअनुसार तालिमको समय थप गर्न सकिने महासचिव चौधरीले बताउनुभयो । त्यसैगरी बैठकमा पत्रकारले आफ्नो जिल्लाको वस्तुगत स्थितिका बारेमा जानकारी गराउनुभएको थियो । २०६७ चैत १६ गते विधिबत स्थापना भएको संघको हाल १७ जिल्लामा शाखा छ । संघभित्र करिब चारसय पत्रकार आवद्ध छन् ।

तपाईको प्रतिक्रिया